काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आज बेलुकीसम्ममा सबै जिल्लामा मतपत्र पठाइसक्ने भएको छ । वैशाख ३० गते शुक्रबारका लागि आवश्यक पर्ने मतपत्र छपाईको काम हिजै सकिएको र आज बेलुकीसम्ममा पठाउने तयारी भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोग प्रवक्ता शालीग्राम शर्मा पौडेलले आज बेलुकीसम्ममा सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने बताएका छन् ।
मधेस प्रदेशका ८ जिल्ला बाहेक अरु जिल्लामा यसअघि नै मतपत्र ढुवानी भइसकेको आयोगले बताएको छ । ४३ पालिकामा पुनः मतपत्र छाप्नु परेकाले यसअघिको लक्ष्यभन्दा धेरै छपाइ भएको आयोगका प्रवक्ता पौडेलले बताए ।
पुनः १३ लाख चार हजार मतपत्र छापिएको हो । आयोगले ६ महानगर र भक्तपुरका लागि आवश्यक मतपत्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि छपाइ थालेको थियो । पालिका चुनावका लागि कुल मतदाता एक करोड ७७ लाख ३३ हजार ७ सय २३ जना रहेका छन् ।
प्रतिक्रिया