समृद्धि र सुरक्षाका लागि टोखा नगरले मलाई खोज्यो

समृद्धि र सुरक्षाका लागि टोखा नगरले मलाई खोज्यो



काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने ऎतिहासिक नगरी टोखा नगरपालिकामा नेपाली कांग्रेसबाट स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिएको रजनी थापाले तीन विषयमा स्नातकोत्तर गरेकी छन् । रजनी जेसिसको राष्ट्रिय उपाध्यक्ष र लाइन्स क्लब काठमाडौ देउराली धापासीको अध्यक्ष हुन् । नेपाली कांग्रेसको तर्फबाट टोखा नगरपालिका प्रमुखकी उम्मेदवार बनेकी थापाले अबको पाँच बर्षभित्र टोखालाई नेपालकै पहिलो हरित शहर बनाउने घोषणा गरेकी छन् । बोल्ने भन्दा पनि काम गरेर नगरको मुहार परिवर्तन गर्ने लक्ष्य लिएकी छन् ।

सहायक प्राध्यापक उमेश भट्टराई, अनुसन्धानकर्ता सौरभराज पन्त, स्थानीय इन्जिनियर आशिष शर्मा, पत्रकार सुवास कुँवर, टोखाबाट गणेश कार्की, रत्न महर्जन, नेपाली कांग्रेस टोखा नगरका सभापति एवं पदाधिकारी, प्रत्येक वडाका प्रतिनिधि, इन्जिनियर वातावरणविद् लगायतको टोलीले यो घोषणापत्र निर्माण गरेको हो । उनै थापासँग गरेको कुराकानीको सारांश यस्तो छः

० राजनीतिमा लाग्ने प्रेरणा कसले दियो ?
– मेरो परिवारको साथ सहयोग र बुबाको प्रेरणाले म राजनितीमा लगेकी हुँ, म मेडिकल विद्यार्थी भएर पश्चिमको एउटा जिल्ला अस्पतालमा नियुक्त भएर गएको थिएँ ड्युटीकै पहिलो दिन मै १० बर्षकी नाबालिकालाई आफ्नै बाबुले बलात्कार गरेको घटनाको केस हेर्नु पर्यो । त्यसले मेरो मनमा ठूलो धक्का लाग्यो अनि घरमा घटनाबारे जानकारी गराएँ । म त्यो जागिर छोडेर महिला सशक्तिकरणको कार्यमा लागे । सामाजिक कार्य गर्दागर्दै राजनीतिमा आएकी हुँ ।

० राजनीतिमा किन आउनु भो ?
– उक्त घटनापछि एक जनाले जागिर खाएर समाजप्रति आफ्नो उत्तरदायित्व बिर्सेर बसिरहन सकिनँ, रजनी सचेतना नेपाल फाउन्डेसनको स्थापना गरेर सोही संस्थामार्फत् कार्य गर्दै आइरहेकी छु ।

पढाइ भनेको कोरा शिक्षा मात्र होइन, एउटा शिक्षित व्यक्तिले आफू वरिपरिका सामाजिक फोहाेर सफा नगरेर यो अवस्था आएको हो । त्यसैले एक शिक्षित व्यक्तिले गरे समाजको फोहाेर फाल्न सकिन्छ भनेरै विदेश नगएर वा जागिर नगरेर राजनीतिक क्षेत्रमा आएकी हुँ ।

० चुनाव जित्नु भो भने के गर्नु हुन्छ ?
– राज्यको मुल प्रवाहमा आउन नसकेका दुरदराजका महिलालाई आरक्षण चाहिएको छ । आरक्षणको आवश्यकता, शिक्षित महिलाले आरक्षणको कोटा लिएर अगाडि बढ्नुपर्ने अवस्था छैन । म आफु पनि शिक्षित महिला नै हुँ । आफुलाई जस्तो सुकै अवस्था र परिस्थितिमा प्रस्तिस्पर्धा गर्न सक्ने क्षमता भएको युवाको रूपमा प्रस्तुत गरेकी छु ।

शिक्षित र सबल महिलालाई आरक्षणको आवश्यकता पर्छ जस्तो लाग्दैन। मैले टोखा नगरमा मेयर पदमा बिजयी हुँदै गर्दा समग्र टोखा नगरका आम महिलाको सर्वाङ्गिण बिकास र महिला सशक्तिकरणका लागि काम गर्नेछु ।

अबको पाँचबर्ष भित्र टोखा नगरभित्र रातको १२–१ बजे एक महिला एक्लै कामबाट फर्कदा वा जाँदा पनि सार्वजनिक स्थान बाटोमा सुरक्षित हिँडडुल गर्न सक्ने समाजको निर्माण गर्नेछु ।

० तपाईंलाई नै किन जिताउने ?
– मलाई स्थानीयले किन भोट दिने किन जिताउने ! पहिलो त म यस नगरको छोरी चेली हुँ । यही जन्मी हुर्किएकी सबल नारी हुँ । पढेलेखेकी छु, जनजनमा परिचित छु, हिजोका दिनदेखि नै निरन्तर सामाजिक कर्यमा लाग्दै आइरहेकी छु ।

जनताको समस्यालाई आँखा अगाडि देखेर भोगेकी छु । म ती समस्यालाई समाधान गरी सबल र समृद्ध टोखा निर्माण गर्न सक्छु । नगरको हर समस्यालाई आफ्नै समस्याको रूपमा महसुस गरेर समाधान गर्न सक्छु । त्यसैले टोखाबासीले मलाई जिताउनु पर्छ भन्ने लागेको छ।

टोखाको समृद्धि र दिगो विकास गर्दै नेपालको पहिले हरित सहर निर्माण गर्नका लागि पनि टोखा नगर र नगरवासीलाई मेरो आवश्यकता महसुस गर्नु भएको छ । यहाँका आमाबुबा दाजुभाइ दिदिबहिनीहरूले ।

मैले जित्दा टोखाको एउटा सबल नारीले जितेको हो अर्थात आम टोखाबासी दिदीबहिनी आमाहरूको जित हुन्छ । र, उहाँहरूको समृद्धि र सुरक्षाका लागि नगरले मेरो माग गरेको छ । आम टोखाबासी महिला बालबालिकाको सर्वाङ्गिण बिकासका लागि मेरो जितको आवश्यकता छ ।

० तपाईंको चुनावी घोषणा पत्रले के के कुरालाई विशेष जोड दिएको छ ?
– मेरो चुनावी घोषणापत्रले टोखालाई समृद्ध बनाउन अल्पकालिन र दीर्घकालीन योजना तयार पारेको छ । विशेष गरेर शिक्षा, स्वास्थ , पुर्वाधार बिकास, वातावरण , पर्यटन बिकास, सुशासन, भ्रष्टाचार शून्य सहनशिलता, महिला सुरक्षा, बेरोजगारी समस्याको समाधान, सिङ्गो टोखालाई खुला जिवित सङ्ग्रालयको रूपमा विकसित गर्न नेपालको पहिले हरित नगरको रुपमा विकसित गर्ने योजनाहरू प्रस्तुत गरेकी छु ।