स्थानीय तह निर्वाचनका लागि ७७ जिल्लामै मतपत्र पुगिसक्योः आयोग

स्थानीय तह निर्वाचनका लागि ७७ जिल्लामै मतपत्र पुगिसक्योः आयोग


ग्लोब नेपाल
189
Shares

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लामा मतपत्र ढुवानीको काम सम्पन्न भएको जनाएको छ । वैशाख १३ गतेदेखि विभिन्न जिल्लाका लागि सुरु भएको मतपत्र छपाईको काम सुरक्षा प्रबन्धका साथ पठाइएको आयोगले जनाएको छ ।

सडकमार्ग सहज नहुने जिल्लामा भने हवाइ मार्गबाट मतपत्र ढुवानी गरिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका सम्बन्धित पालिकाका लागि प्याकिङ गराई चाँडै स्थानीयरूपमा मतपत्र ढुवानी गराउने आयोगले जनाएको छ ।

उम्मेदवारी मनोनयनपत्र दर्ताको विवरण र निर्वाचन चिह्न प्रदानका आधारमा थप छपाइ गर्नुपर्नेसहित कुल दुई करोड सात लाख ४६ हजार मतपत्र छपाइ भएको थियो । आयोगका विभिन्न प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आयोगले निर्धारण गरेको विषयवस्तुका आधारमा तालिम दिएका छन् ।

कतिपय जिल्लामा तालिम जारी रहेको छ भने कतिपय जिल्लामा तालिम सम्पन्न भएको छ । कार्यालयले आयोगबाट प्राप्त भएका निर्वाचन सामग्री र मतपत्रलाई व्यवस्थापन गर्दै प्याकिङ र वितरणको तयारी गरेका छन् । ती सामग्री चाँडै मतदानस्थल र केन्द्रमा लगिने पनि आयोगले जनाएको छ । सुरक्षाको प्रबन्ध, आचारसंहिता कार्यान्वयनको अनुगमन, नमूना मतदान कार्यक्रमलगायत काममा पनि ती कार्यालय जुटिरहेका छन् ।

प्रदेश निर्वाचन कार्यालयले प्रदेशका मुख्यालय भएका जिल्लाभरका निर्वाचन गतिविधिको नेतृत्व लिन्छन् भने जिल्ला निर्वाचन कार्यालयले सम्बन्धित जिल्लाको जिम्मेवारी पाएका छन् । सबै जिल्ला र पालिकामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी गरी आवश्यक सङ्ख्यामा सुरक्षाकर्मी परिचालित गरिएको छ ।