स्थानीय तहमा कांग्रेस सबैभन्दा ठूलो दल

स्थानीय तहमा कांग्रेस सबैभन्दा ठूलो दल

२०७४ को स्थानीय तह निर्वाचनमा एमालेले २ सय ९४ स्थानीय तहमा प्रमुख-अध्यक्षमा जित हात पारेको थियो भने २ सय ६६ स्थानीय तहमा कांग्रेसले जितेको थियो ।


ग्लोब नेपाल
1.4k
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनको जारी मतगणनामा प्राप्त परिणामअनुसार नेपाली कांग्रेस स्थानीय तहमा पहिलो दल बन्ने पक्का भएको छ । २०७४ को निर्वाचनमा स्थानीय तहमा नेकपा एमाले पहिलो दल बनेको थियो ।

२०७४ को स्थानीय तह निर्वाचनमा एमालेले २ सय ९४ स्थानीय तहमा प्रमुख-अध्यक्षमा जित हात पारेको थियो भने २ सय ६६ स्थानीय तहमा कांग्रेसले जितेको थियो । तर बिहीबार विहानसम्मको प्रारम्भिक परिणामअनुसार कांग्रेसले विगतको दोस्रो स्थानको हैसियतलाई बदल्दै स्थानीय तहमा पहिलो दल बन्ने पक्का भएको हो ।

प्राप्त मत परिणामअनुसार कांग्रेसले ७ सय ५३ स्थानीय तहमध्ये २ सय ४५ स्थानीय तहमा प्रमुख÷अध्यक्षमा जित हात पारेको छ भने ७४ स्थानीय तहमा अग्रता लिएको छ । यो अग्रता हेर्दा कांग्रेसले ३ सय बढी स्थानीय तहमा जित निकाल्ने देखिएको छ । यस्तै, नेकपा एमालेले १ सय ५६ तहमा प्रमुख÷अध्यक्षमा जित हात पार्दा ४१ स्थानीय तहमा अग्रता लिएको छ ।

यो अंक हेर्दा स्थानीय तहमा एमालेले विगतको भन्दा करिब ९० स्थानीय तह गुमाउने देखिएको छ । यसैगरी, विगतको स्थानीय तह निर्वाचनमा १ सय ६ तह जित्दै तेस्रो दल बनेको नेकपा माओवादी केन्द्रले भने विगतको हैसियतलाई अंकमा बढाएर तेस्रो स्थानलाई सुरक्षित गर्ने पक्का भइसकेको छ । प्राप्त मत परिणाअनुसार माओवादी केन्द्रले १ सय ४ स्थानीय तहमा जित निकालिसकेको छ भने १३ स्थानीय तहमा अग्रता लिएको छ ।

यसैगरी, स्थानीय तहमा चौंथो दलको हैसियतमा भने जनता समाजवादी पार्टी नेपालको सम्भावना बढेको छ । जसपाले १२ स्थानीय तहमा प्रमुख-अध्यक्ष जितेको छ भने १९ स्थानमा अग्रता लिएको छ । नेकपा एसले १० तहमा प्रमुख-अध्यक्ष जितेको छ ९ स्थानीय तहमा अग्रता लिएको छ ।