जनताको विश्वासमा ठेस लाग्न दिन्न : तेजन खनाल

जनताको विश्वासमा ठेस लाग्न दिन्न : तेजन खनाल



सिद्धिचरण नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसको तर्फबाट तेजेन्द्र खनाल (तेजन) निर्वाचित भएका छन् । ओखलढुंगाको यो एक मात्र नगरपालिका हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की इच्छाकुमारी गुरुङभन्दा १ हजार १ सय ८४ मत बढी ल्याएर विजयी भएका खनाल नेपाली कांग्रेस पार्टीको जिल्ला सभापति समेत हुन् । यसभन्दा अघि खनाल नेपाल विद्यार्थी संघ ओखलढुंगाका सभापति एवम् नेपाली कांग्रेस ओखलढुंगाका उपसभापति भइसकेका अनुभवि हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँग गठबन्धन गरेर निर्वाचनमा होमिएका खनालले डाइनामिक युवा नेताको परिचय बनाएका छन् । २०४९ सालपछि कांग्रेसले सिद्दिचरणमा खनालको नेतृत्वमा पहिलोपटक विजय हासिल गरेको हो ।

नगरको विकास योजना र जनतालाई दिने सेवा सुविधा अन्यभन्दा फरक हुने कुराकानीका क्रममा खनालले बताए । नवनिर्वाचित मेयर खनालले ग्लोब नेपाललाई दिएको पहिलो अन्तर्वार्ताको सम्पादित अंश यस्तो छ–
० जीतलाई कसरी लिनुभएको छ ?
– यो जीतलाई मैले जनताले दिएको जिम्मेवारी ठानेको छु । यसले राम्रो काम गर्छ, नगरमा परिवर्तन ल्याउँछ भनेरै मलाई जनताले यो जिम्मेवारी सुम्पेका हुन् । यसलाई मैले स्वभाविक रुपमा लिएको छु ।

० अब तपाईंको प्राथमिकता के हुनेछ ?
– मेरो प्राथमिकता भनेकै जनताको समस्या समाधान हो । नगरभित्र रहेको अधुरा सडक सञ्जाल पूरा गर्ने, खानेपानी, ढल निकास र बिजुली बत्तीको समस्या कसरी समाधान गर्ने भन्ने सोचका साथ अगाडि बढ्छु ।

० अघिल्लो मेयरले सञ्चालन गरेका योजना के हुनेछन् ?
– उहाँहरुले गरेका राम्रा कामले निरन्तरता पाउने छन् । काहिँ गल्तीहरु भेटिए म सच्चाउने प्रयास गर्छु । तर,मैले गल्ति नगर्ने प्रयास गर्छु ।

० भौतिक पूर्वाधार निर्माण मात्रै समस्या हुन् ? जनताका समस्या छैनन् ?
– भौतिक पूर्वाधार निर्माण जनताका अनिवार्य आवश्यकता हुन् । अरु धेरै समस्या छन् । गरिबीको रेखामुनी रहेका जनताको सेवा गर्नु मेरो पहिलो दायित्व हुनेछ । जनताको समस्याका बारेमा हामी सामूहिक छलफल गरेर समाधान गर्ने प्रयास गर्छौं ।

० समस्या समाधान गर्ने योजना के छन् ?
– जनताका धेरै समस्या छन्, त्यसलाई सम्बोधन गर्नका लागि धेरै कार्यक्रमहरुको आवश्यकता छ । त्यसको समाधानका लागि हामी सामूहिक छलफल गरेर योजना तर्जुमा गर्छौं ।

० रुम्जाटारको एयरपोर्ट के हुन्छ ?
– रुम्जाटार आफैमा एउटा ऐतिहासिक स्थान हो । यो ऐतिहासिक स्थानमा रहेको एयरपोर्ट सञ्चालन हुनुपर्छ भन्ने हामी सबैको चाहना हो । सञ्चालन गर्न नगर एक्लैले सम्भव छैन । नागरिक उड्डयन प्राधिकरण, पर्यटन मन्त्रालयलगायतले चासो दिनुपर्छ । एयरपोर्ट सञ्चालनका लागि म प्रयास गर्छु ।

० मतदाताहरुलाई के भन्नुहुन्छ ?
– मतदाता शिक्षाको अभावले गठबन्धनका दुवै उम्मेदवार विजयी हुन सकिएन । तर नेपाली कांग्रेसलाई जुन विश्वास गरेर मत दिनुभयो, त्यसका लागि म नगरवासीप्रति आभारी छु । तपाईंहरुको यो विश्वासलाई म आत्मसात गरेर इमान्दारितापूर्वक काम गर्नेछु । तपाईंहरुको विश्वासमा ठेस लाग्न दिने छैन ।

० तपाईंको कार्यालयमा जनताले के अनुभूति गर्न पाउने छन् ?
– जनताका धेरै इच्छा र आकांक्षा छन् । ती सबै पूरा गर्न नसकिएला, तर इमान्दारीपूर्वक काम गर्न खोजेको हो भन्ने अनुभूत नगरबासीलाई गराएरै छाड्छु ।