ओखलढुंगामा एकै परिवारको ३५ वर्षसम्म वर्चस्व

ओखलढुंगामा एकै परिवारको ३५ वर्षसम्म वर्चस्व

बाबु २० वर्षसम्म लगातार प्रधानपञ्च, त्यसपछि आमा पाँच वर्ष प्रधानपञ्च । र, स्थानीय तहअन्तर्गतको गाउँपालिकामा लगातार छोरा दुईपटक अध्यक्षमा विजयी


ग्लोब नेपाल
81.1k
Shares

ओखलढुंगा । बाबु २० वर्षसम्म लगातार प्रधानपञ्च, त्यसपछि आमा पाँच वर्ष प्रधानपञ्च । र, स्थानीय तहअन्तर्गतको गाउँपालिकामा लगातार छोरा दुईपटक अध्यक्षमा विजयी ।

यस्तो संयोग बिरलैलाई मिल्छ । हो, ओखलढुंगाको चप्पादेवी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका नवराज केसी विजयी भएपछि उनको परिवारले ३५ वर्षसम्म गाउँपञ्चायत-गाउँपालिका प्रमुख भएर हाँक्ने देखिएको छ ।

एकै परिवारका बुबा, आमा तथा छोराले निरन्तर साढे तीन दशक अपार जनमतकासाथ निर्वाचित हुने दुर्लभ संयोगले सो परिवारप्रति स्थानीय जनताको आस्था र भरोसा देखिएको तथा सो परिवार स्थानीयबीच लोकप्रिय रहेको स्थानीय मतदाताको भनाइ छ ।

बाबुआमापछि छोरा दोस्रो कार्यकालका लागि निर्वाचित

केसी ४ हजार ७ सय ८३ मत पाएर दोस्रोपटकका लागि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । नेपाली कांग्रेसबाट विजयी उनी स्थानीय मतदाताबीच विकासप्रेमी नेताका रूपमा चिनिन्छन् । दोस्रोपटकका लागि निर्वाचित भएपछि उनले स्थानीय जनताको अपेक्षालाई पूरा गर्न आफूले सधैं प्रयास गरिरहने बताएका छन् ।

स्थानीय जनताले अपेक्षा गरेअनुरूप गाउँको विकासमा पूर्णरूपमा योगदान पु-याउने प्रतिबद्धता व्यक्त गर्दै केसीले विकासको चाहनालाई पूरा गर्न आफू सदैव तल्लीन रहिरहने बताए ।

सो ठाउँमा केसीका बाबु रणबहादुर खत्री २० वर्षसम्म प्रधानपञ्च भएका थिए । बाबुपछि आमा गायत्रीदेवी पाँच वर्ष प्रधानपञ्च भएकी थिइन् । बुबा तथा आमा पटकपटक गरी साढे दुई दशकसम्म निरन्तर प्रधानपञ्च भएको ठाउँमा उनले अघिल्लो स्थानीय तह निर्वाचनमा अध्यक्षमा उम्मेद्वारी दिएका थिए । उनको उम्मेदवारीलाई जनताले अनुमोदन गरेपछि हौसिएका केसी दोस्रोपटक पनि उम्मेदवार बने । अन्ततः त्यसमा पनि उनी सफल भए ।

स्थानीय जनताबीच नवनिर्वाचित केसी मेहनती तथा स्पष्ट वक्ता एवं अडान भएका युवा नेताका रूपमा चिनिन्छन् । उनी नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाका उपसभापतिसमेत हुन् ।

केसीले आफ्नो पालिकाका सबै वडामा सदरमुकाम जोड्ने सडकको व्यवस्थासँगै खानेपानी तथा बिजुलीको व्यवस्था गरिसकेका छन् भने प्राथमिक विद्यालयलाई स्तरोन्नत्ति गरी माध्यमिक विद्यालय बनाउँदै प्राविधिक शिक्षाका लागि १२ सम्मको पठनपाठनको व्यवस्था मिलाएका छन् । उनले सबै वडामा स्वास्थ्यचौकीको समेत व्यवस्था गरेका छन् । यसैगरी, कृषि बिमातर्फ समेत योगदान पु-याएका छन् ।

स्वच्छ छवि भएका केसी सो पालिकाको हरेक वडा र स्थानीय बासिन्दाबीच लोकप्रिय छन् भने स्थानीय समस्या र समाधानतर्फसमेत जानकार छन् ।
– राजधानी दैनिकबाट