एन्फा अध्यक्षमा निरन्तरता दिन शेर्पाको शक्ति प्रदर्शन

एन्फा अध्यक्षमा निरन्तरता दिन शेर्पाको शक्ति प्रदर्शन


ग्लोब नेपाल
135
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी ६ असारमा हुने निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षका रुपमा चार वर्ष नेपाली फुटबलको सर्वोच्च निकायको नेतृत्व गर्दा सुरू गरेका बाँकी काम पूरा गर्न थप एक कार्यकाल निरन्तरता दिने बताउँदै शेर्पाले सोमबार उम्मेदवारी घोषणा गरेका हुन् ।

यसअघि वर्तमान वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराइसकेका छन् । काठमाडौंको एक पार्टी प्यालेसमा उम्मेदवारी घोषणा गरेपछि शेर्पाले आजै निर्वाचन समितिसमक्ष पिन उम्मेदवारी दर्ता गराउनेछन् ।

मानार्थ उपाध्यक्ष शिक्षित पराजुलीले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । नेम्वाङले शुक्रबार उम्मेदवारी दर्ता गराउँदा कुल ८७ मध्ये ५७ मतदाता भेला पारेर शक्ति प्रदर्शन गरेका थिए । आज शेर्पाले आफ्नो शक्ति प्रदर्शनमा त्यही हाराहारीमा मतदाता उपस्थित गराएको दाबी गरेका छन् ।

शेर्पाको उम्मेदवारी घोषणा कार्यक्रममा एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंह, महासचिव इन्द्रमान तुलाधर, कार्यसमितिका सदस्यहरू रत्नकुमार श्रेष्ठ, दीर्घबहादुर केसी, मधुसुदन उपाध्याय, पूर्णमान चित्रकार, प्रदेशसिंह राठोरलगायतको उपस्थिति थियो ।

यसैगरी, पूर्व राष्ट्रिय खेलाडीहरू विष्णुगोपाल श्रेष्ठ, धिरेन्द्र प्रधान, राजेश मानन्धर, बालगोपाल महर्जन, राजेश मास्के, हरि खड्का, हरिओम श्रेष्ठ र एन्फाका केही कर्मचारीलगायत पनि कार्यक्रममा उपस्थित थिए । यसैगरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यहरू इन्दिरा निरौला र रेणु श्रेष्ठ पनि कार्यक्रममा उपस्थित थिए ।

शेर्पा पक्ष र नेम्वाङ पक्षको उम्मेदवारी घोषणा कार्यक्रममा कतिपय अनुहार भने दोहोरिएका थिए । केही क्लब र जिल्ला संघका प्रतिनिधिहरू दुवै पक्षको कार्यक्रममा ऐक्यबद्धता जनाउन उपस्थित थिए । उम्मेदवारी घोषणा कार्यक्रममा शेर्पा पक्षले आफूहरूले विगत चार वर्षमा गरेका कामको उल्लेख गर्दै ‘नेपाली फुटबलमा, संस्थागत विकासका लागि निरन्तर परिवर्तन, आर्थिक सवलीकरण र व्यावसायिकता हाम्रो अभियान’ नामको पुस्तिका सार्वजनिक गरेको थियो ।