रौतहटको १६ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते ?

रौतहटको १६ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते ?


ग्लोब नेपाल
297
Shares

रौतहट । १८ वटा स्थानीय तह रहेको रौतहटमा १६ स्थानीय तहको मतगणना सकिएको छ । मतगणनाअनुसार हालसम्ममा कांग्रेसले ६, नेकपा(एस)ले चार, एमालेले दुई, लोसपाले दुई, जसपाले एक र माओवादी केन्द्रले एक पालिकामा जित हात पारेको छ ।

नेपाली कांग्रेसले राजपुर नगरपालिका, कटहरिया नगरपालिका, गढीमाई नगरपालिका, चन्द्रपुर नगरपालिका, परोहा नगरपालिका र माधव नारायण नगरपालिकामा जित हात परेको छ । २०७४ को निर्वाचनमा आठ पालिकामा जित हासिल गरेको कांग्रेसले रौतहटमा यो पटक हालसम्ममा ६ पालिकामा जित हासिल गरेको हो । यसअघि कांग्रेसले जित हासिल गरेको वृन्दावन, दुर्गा भगवती र राजदेवी भने गुमाएको छ ।

यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले चार पालिकामा जित हासिल गरेको छ । नेकपा एसले वृन्दावन नगरपालिका, गौर नगरपालिका, बौधीमाई नगरपालिका र राजदेवी नगरपालिकामा विजयी भएको छ । यस्तै नेकपा एमालेले देवाही गोनाही नगरपालिका र मौलापुर नगरपालिकामा जित हात पारेको छ । २०७४ को निर्वाचनमा रौतहटबाट क्लिन स्विप भएको एमालेले यो पटक भने हालसम्ममा २ पालिकामा जित हासिल गरेको छ । यसअघि माओवादी केन्द्रले जित हासिल गरेको मौलापुर र संघीय समाजवादी फोरम, नेपालले जित हासिल गरेको देवाही गोनाहीमा एमालेले जित हात पारेको हो ।

यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ईशनाथ नगरपालिका र यमुनामाई गाउँपालिकामा विजयी भएको छ । यस्तै, गुजरा नगरपालिकामा जनता समाजवादी पार्टी, नेपालले र दुर्गा भगवती गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जित हात पारेको छ । २०७४ को निर्वाचनमा तीन पालिकामा जित हासिल गरेको माओवादी केन्द्रले रौतहटमा यो पटक हालसम्ममा एउटा पालिकामा जित हासिल गरेको हो ।

यसअघि माओवादी केन्द्रले जित हासिल गरेको कटहरिया र यमुनामाई भने गुमाएको छ । जिल्लाको १८ मध्ये १६ वटा पालिकाको मतपरिणाम सार्वजनिक भइसकेको छ । फतुवा विजयपुर र गरुडाको मतगणना भने जारी छ ।