नेपालमा जहाज दुर्घटनाको इतिहासः ५२ भन्दा बढी जहाज दुर्घटना हुँदा साढे ८ सयभन्दा बढीको मृत्यु

नेपालमा जहाज दुर्घटनाको इतिहासः ५२ भन्दा बढी जहाज दुर्घटना हुँदा साढे ८ सयभन्दा बढीको मृत्यु


ग्लोब नेपाल
27
Shares

काठमाडौं । पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको टुविन्अटर ‘नाइन एनएइटी’ जहाज आज मुस्ताङको थसाङ-२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । जहाज आइतबार बिहानदेखि सम्पर्कबिहिन भएको थियो ।

जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना यात्रु रहेका थिए । नेपालमा भएयो यो पहिलो जहाज दुर्घटना भने होइन । यसअघि पनि थुप्रै पटक नेपालमा जहाज तथा हेलिकप्टर दुर्घटना भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा पछिल्लो ७६ वर्षमा ५२ वटाभन्दा बढी जहाज तथा हेलिकप्टर दुर्घटनामा परेका छन् । यस्ता दुर्घटनामा थुप्रैको ज्यान गएको छ । उक्त अवधिमा नेपालमा भएका जहाज तथा हेलिकप्टर दुर्घटनामा ८५० जनाभन्दा बढीको मृत्यु भएको छ ।

नेपालमा पहिलो पटक सन् १९४६ मे ७ का दिन जहाज दुर्घटना भएको थियो । रोयल फोर्स एयरको जहाज दुर्घटना हुँदा मानविय क्षति भने भएको थिएन । नेपालमा जहाज दुर्घटना हुँदा पहिलो पटक मानविय क्षति सन् १९५५ मा भएको थियो । कालिंगा एयरको जहाज दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।

यस्तै काठमाडौंमा इण्डियन एयरलाइन्सको जहाज सन् १९५६ मा दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाएका थिए । इण्डियन एयरलाइन्सको जहाज सन् १९५७ मा पनि नेपालमा दुर्घटनामा परेको थियो । टीकारभैरवमा इण्डिन एयरलाइन्सको जहाज दुर्घटना हुँदा २० जनाको ज्यान गएको थियो । यसको एक वर्ष नबित्दै सन् १९५८ मा इण्डियन एयरलाइन्सको अर्को जहाज नेपालमा दुर्घटना हुँदा २० जनाको मृत्यु भएको थियो ।

नेपाल एयरलाइनसको जहाज सन् १९६० मा दुर्घटनामा परेको थियो । भैरहवामा दुर्घटना हुँदा चार जना यात्रुको मृत्यु भएको थियो । नेपाल एयरलाइन्सको अर्को जहाज सन् १९६२ मा ढोरपाटनमा दुर्घटना हुँदा १० जनाले ज्यान गुमाएका थिए । सोही वर्ष नेपाल एयरलाइन्सको अर्को जहाज ढोरपाटनमै दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।

नेपाल एयरलाइन्सको अर्को जहाज सन् १९६९ मा दुर्घटनामा परेको थियो । सो जहाज दुर्घटना हुँदा ३५ जनाको मृत्यु भएको थियो । यसको एक वर्षपछि सन् १९७० मा दिल्लीमा नेपाल एयरलाइन्सको जहाज दुर्घटना हुँदा एक जनाको ज्यान गएको थियो ।

सन् १९७० मा नै रोयल लाइटको जहाज जोमसोममा दुर्घटना भएको थियो । दुर्घटनामा एक जनाको मृत्यु भएको थियो । यसको दुई वर्षपछि रोयल लाइट धुलिखेलमा दुर्घटना भएको थियो । दुर्घटना हुँदा ३१ जनाले ज्यान गुमाएका थिए ।

नेपाल एयरलाइनसको जहाज सन् १९७५ मा काठमाडौंमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो भने सन् १९७६ मेघौलीमा दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका थिए । सन् १९७९ मा लाङ्टाङ्मा जहाज दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।

नेपाल एयरलाइन्सको जहाज सन् १९८१ मा विराटनगरमा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा १० जनाको मृत्यु भएको थियो । नेपाल एयरलाइन्सको जहाज सन् १९८४ मा भोजपुरमा दुर्घटना हुँदा १५ जनाले ज्यान गुमाएका थिए । सन् १९८५ मा नेपालमा अर्को विमान दुर्घटना भएको थियो, जसमा परी २५ जनाले ज्यान गुमाएका थिए ।

थाई एयरको जहाज सन् १९९२ मा नेपालमा दुर्घटनामा परेको थियो । रसुवामा भएको उक्त दुर्घटनामा ११३ जनाको मृत्यु भएको थियो । पाकिस्तान एयरलाइन्सको जहाज सन् १९९२ मा ललितपुरको भट्टेडाँडामा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा १६७ जनाको मृत्यु भएको थियो ।

एभरेष्ट एयरको जहाज सन् १९९२ मा दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए । नेपाल एयरलाइन्सको जहाज सन् १९९५ मा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।

कर्णाली एयरको जहाज सन् १९९७ मा दुर्घटनामा परेको थियो । दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो । लिबानी जहाज सन् १९९८ मा नेपालमा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो ।
एसियन एयरको जहाज सन् १९९८ मा दुर्घटनामा परेको थियो । सोलुखुम्बुमा भएको उक्त दुर्घटनामा तीन जनाले ज्यान गुमाएका थिए । सोही वर्ष नेपाल एयरलाइन्सको जहाज सोलुमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो ।

नेकोन एयरको जहाजा सन् १९९९ मा जुम्लामा दुर्घटनामा परेको थियो । दुर्घटनामा पाँच जनाले ज्यान गुमाएका थिए । सोही वर्ष मकवानपुरमा स्काइलाइनको विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो ।

नेपाल एयरलाइन्सको जहाज सन् २००० मा डडेल्धुरामा दुर्घटना भएको थियो । सो दुर्घटनामा २५ जनाले ज्यान गुमाएका थिए । फिस्टेल एयरको हेलिकप्टर सन् २००१ मा रारा तालमा खस्दा चार जनाको मृत्यु भएको थियो ।

यस्तै, स्काइलाइनको जहाज सन् २००२ मा सुर्खेतमा दुर्घटना भएको थियो । दुर्घटनामा चार जनाको मृत्यु भएको थियो । सांग्रीला एयरको जहाज सन् २००२ मा दुर्घटना भएको थियो । कास्कीमा भएको उक्त दुर्घटनामा १८ जनाको ज्यान गएको थियो ।

यती एयरलाइन्सको जहाज सन् २००४ मा लम्जुङमा दुर्घटना भएको थियो । सो घटनामा ३ जनाले ज्यान गुमाएका थिए । एयर डाइनेस्टिको जहाज सन् २००५ मा दुर्घटनामा परेको थियो । दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो ।

यती एयरलाइन्सको जहाज सन् २००६ मा दुर्घटना भएको थियो । जुम्लामा भएको उक्त दुर्घटनामा ९ जनाले ज्यान गुमाएका थिए । सोही वर्ष यती एयरलाइन्को अर्को जहाज लुक्लामा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा १९ जनाको ज्यान गएको थियो ।

अग्नी एयरको जहाज सन् २०१० मा दुर्घटना भएको थियो । मकवानपुरमा भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो ।

तारा एयरको जहाज सन् २०११ मा ओखलढुंगामा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परी २२ जनाले ज्यान गुमाएका थिए । सोही वर्ष बुद्ध एयरको जहाज ललितपुरमा दुर्घटना भएको थियो । दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो ।

अग्नी एयरको जहाज सन् २०१२ मा जोमसोममा दुर्घटनामा परेको थियो । दुर्घटनामा १५ जनाको ज्यान गएको थियो । सोही वर्ष सीता एयरको जहाज काठमाडौंमा दुर्घटना हुँदा १९ जनाले ज्यान गुमाएका थिए ।

नेपाल एयरलाइन्सको जहाज सन् २०१४ मा अर्घाखाँचीमा दुर्घटनामा परेको थियो । दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । सन् २०१५ अमेरिकी सेनाको हेलिकप्टर दुर्घटनामा परेको थियो । भूकम्पपछिको राहत तथा उद्धार कार्यमा खटिँदा हेलिकप्टर दुर्घटना भएको थियो । सो दुर्घटनामा १३ जनाको मृत्यु भएको थियो ।

सन् २०१५ मा नेपालमा अर्को हेलिकप्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा चार जनाले ज्यान गुमाएका थिए । तारा एयरको जहाज सन् २०१६ मा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो ।

युएस–बाङ्ग्ला एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१८ मा दुर्घटना हुँदा ५१ जनाको ज्यान गएको थियो । सोही वर्ष अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना भएको थियो । हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो । सन् २०१८ मा नै मकालु एयरको जहाज सिमिकोटमा दुर्घटना भएको थियो । दुर्घटनामा परी दुई जनाले ज्यान गुमाएका थिए ।

एयर डाइनेस्टीको हेलिकप्टर सन् २०१९ मा ताप्लेजुङको सिस्नेभीरमा दुर्घटनामा परेको थियो । दुर्घटनामा ७ जनाको मृत्यु भएको थियो । सोही वर्ष समिट एयरको जहाज लुक्ला विमानस्थलमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो ।