आईजीपी नियुक्तिविरुद्धको मुद्दाको पूर्ण सुनुवाइ आज हुँदै

आईजीपी नियुक्तिविरुद्धको मुद्दाको पूर्ण सुनुवाइ आज हुँदै


ग्लोब नेपाल
702
Shares

काठमाडौं । धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा परेको मुद्दामा आज पूर्ण सुनुवाइ हुँदैछ । गत वैशाख २२ गते न्यायाधीश सुष्मालता माथेमाको इजलासले उक्त रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । मुद्दाको पूर्ण सुनुवाइका लागि आज जेठ १७ गतेलाई पेशी तोकिएको हो ।

निवेदक र विपक्षी धिरजप्रताप सिंहको व्यक्तिगत फाइल र उनलाई बढुवा गर्ने वैशाख १८ गतेको प्रस्तावसहितको निर्णय मिसिलसमेत झिकाउन आदेश भएको थियो । पहिलो र दोस्रो वरियतामा रहेका एआईजीलाई छाडेर तेस्रो वरियतामा रहेका एआईजी सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय वैशाख १८ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो । उक्त निर्णयले आफूलाई अन्याय भएको भन्दै पहिलो वरीयताका एआईजी विश्वराज पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र धिरज प्रताप सिंहलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।