प्रदेशलाई उन्नत बीउमा आत्मनिर्भर बनाउन मेशीन जडान

प्रदेशलाई उन्नत बीउमा आत्मनिर्भर बनाउन मेशीन जडान


ग्लोब नेपाल
0
Shares

स्याङ्जा । गण्डकी प्रदेशको ११ वटा जिल्लालाई खाद्यान्न तथा तरकारी बालीको बीउमा आत्मनिर्भर बनाउन बीउ प्रशोधन मेशिन जडान गरिएको छ ।

स्याङ्जाको वालिङ १ त्रियासीमा रहेको कृषि विकास स्रोत केन्द्रमा भण्डारणसहितको मेशिन जडान गरिएको हो । तराइ, मध्य पहाड र उच्च पहाडमा आवश्यक पर्ने उन्नत बीउ उत्पादन गर्न प्रदेश भित्रका ६१ वटा कृषक समुह तथा सहकारी सुचिकृत भएका छन् ।

खाद्यान्न तथा तरकारी बालीको बीउ आयात प्रतिस्थापन गर्न स्याङ्जामा प्रदेश स्तरीय बीउ प्रशोधन मेशिन जडान गरिएको छ । गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले एक करोडको लागतमा भण्डारण सहितको प्रशोधन मेशिन कृषि विकास स्रोत केन्द्र वालिङमा स्थापना गरिएको हो ।

प्रदेशको ११ वटै जिल्लामा स्रोत बीउ उत्पादक कृषकलाई क्षमता विकास, उपकरण, भण्डारण, प्रशोधन तथा बजारीकरणमा सहयोग पुर्‍याउन यो कार्यक्रम अघि सारिएको हो ।

प्रदेशभित्र ६५०० मेट्रिक टन धानको माग रहेको भएपनि ३० प्रतिशत उन्नत स्रोत बीउ उत्पादन गर्न सकिने अवस्था छ । गण्डकी प्रदेशमा धान गहुँ मकै तथा तरकारीको बीउ उत्पादन गर्न ६१ कृषक समुह, सहकारी सुचिकृत भएको बाली विकास अधिकृत सुदीप रेग्मी बताए ।

भूगोलको हिसावले यो प्रदेश तराइ, मध्य पहाड र उच्च पहाडमा विभाजित छ । कृषि विकास स्रोत केन्द्रले तराईमा धान गहुँ दलहन, पेलहन , मध्य पहाडमा मकै, केराउ, सिमी, बोडी र उच्च पहाडमा बढी मुल्य भएका बीउ बालि रायो, मुला, प्याज, लसुन, काउली बन्दा आदीको उन्नत बीउ उत्पादन गर्नेछ ।

अहिले सुचिकृत भएको बीउ उत्पादक समुहलाई क्षमता बिकास गर्दै स्रोत बीउ उत्पादन बृद्धि गरी अन्य प्रदेशमा समेत निर्यात गर्ने लक्ष्य राखिएको छ ।