त्रिविमा तालाबन्दीः बुधबार क्रान्तिकारीले फुटायो‚ बिहीबार नेविसंघले फेरि लगायो !

त्रिविमा तालाबन्दीः बुधबार क्रान्तिकारीले फुटायो‚ बिहीबार नेविसंघले फेरि लगायो !


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) का कार्यकर्ताले ताल तोडेको एक दिन नबित्दै सत्तारुढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्याय कीर्तिपुरमा पुनः तालाबन्दी गरेको छ ।

नेपाल विद्यार्थी संघले झन्डै डेढ सय दिनदेखि त्रिविको केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी बुधबार मात्रै क्रान्तिकारी पार्टीका कार्यकर्ताले तोडेका थिए । नेविसंघले विश्वविद्यालयका प्रमुख विद्यार्थी संगठनहरूले पटक(पटक ध्यानाकर्षण गराउँदा पनि विश्वविद्यालयका पदाधिकारीबाट वार्ता र संवादको ढोका बन्द भएको भन्दै पुनः तालाबन्दी गरेको बताएको छ ।

नेविसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लाखौं रुपैयाँ घुसपैठ गरी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) मध्ये केन्द्रीय कमान्डको लेटर प्याडमा इन्चार्ज सफलको हस्ताक्षरित नक्कली विज्ञप्ति टाँस गरी नेविसंघले लगाएको ताला फुटाउने कु(चेष्टा गर्नु आफैंमा खेदजनक छ ।’

बुधबार मोटरसाइकलमा आएका १५/२० जनाको समूहले उपकुलपति, रजिष्ट्रार र रेक्टरको कार्यकक्षको ढोकामा लगाइएको ताला फुटाएर गएका थिए ।

‘विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाउन ताला लगाउने कार्य कोही कसैले गरेमा कडा रुपमा जुनसुकै परिस्थितिको सामाना गर्न पनि पार्टी तयार रहेको कुरा जानकारी गराउँदछौं’ ‘मध्य केन्द्रीय कमाण्ड’ का इन्चार्ज सफलको नाममा जारी विज्ञप्तिमा भनिएको थियो ।