काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेट कार्यान्वयन गरेर आत्मनिर्भर र समाजवादोन्मुख सबल अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा सहयोग गर्न सबै पक्षसँग आग्रह गरेका छन् ।
आगामी आवको बजेटका सन्दर्भमा नेपाल आर्थिक सङ्घ, बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल र अर्थ मन्त्रालयको सहकार्यमा आज आयोजित कार्यक्रममा उनले सबैको अपनत्व हुने गरी बजेट ल्याइएको बताए ।
“बजेट निर्माण पूर्व सरोकारवाला पक्षसँग छलफल तथा अन्तर्क्रिया गरी सरोकारवालाकै सुझाव, आवश्यकता, अपेक्षा र सिफारिसका आधारमा बजेट निर्माण गरिएको हुँदा यो बजेट तपाईँहरूको हो, प्रतिनिधिका रुपमा मैले प्रस्तुति मात्रै गरेको हुँ”, अर्थमन्त्रीले भने, “मेरो क्षमताले भ्याएसम्म सबैका विषयलाई सम्बोधन गर्ने गरी बजेट बनाएको छु । अब सबैले स्वामित्व ग्रहण गरी प्रतिबद्ध भएर कार्यान्वयनतर्फ अग्रसर होऔँ ।”
अर्थ सचिव मधुकुमार मरासिनीले अर्थतन्त्रमा केही चाप परेको अवस्था देखिएको भए तापनि विगतका बजेटको शृङ्खला अध्ययन गर्दै तथ्याङ्कीय हिसाबबाट बजेट सीमाभित्रै रहने गरी ल्याइएको बताए । उनले भने, “बजेट राजनीतिक–आर्थिक दस्ताबेज पनि भएकाले केही महत्वकाङ्क्षा पनि बोकेको छ, तर प्राकृतिक स्रोतले भरिपूर्ण र अपार सम्भावना बोकेको हाम्रो देशमा बजेटले निर्देश गरेका विषयको कार्यान्वयनमा प्रतिबद्ध भएर लाग्यौँ भने हाम्रो सपना सार्थक हुनेछ ।”
अर्थ मन्त्रालयका वरिष्ठ सल्लाहकार डा.सुरेन्द्र उप्रेतीले आमजनता र सरोकारवाला सबै क्षेत्रको अपेक्षा र आवश्यकता समेट्दै सबैलाई अपनत्व महसुस हुने गरी बजेट आएको बताए । अर्थशास्त्री तथा नेपाल आर्थिक सङ्घका अध्यक्ष प्रा डा विश्वम्भर प्याकु¥यालले बजेट समग्रतामा सकारात्मक भए तापनि राजस्व लक्ष्य प्राप्तिमा कठिनाइ हुने, मुद्रास्फीति र सार्वजनिक ऋण थप बढ्न सक्ने बताए ।
प्रतिक्रिया