प्रचण्ड-माधवलाई प्रधानमन्त्रीको ‘अफर’, प्रतिनिधि सभा चुनावका लागि ‘बार्गेनिङ’?

प्रचण्ड-माधवलाई प्रधानमन्त्रीको ‘अफर’, प्रतिनिधि सभा चुनावका लागि ‘बार्गेनिङ’?


ग्लोब नेपाल
1.8k
Shares

काठमाडौं । बिहीबार दिनभर जसो राजनीतिक वृत्त नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्रीको ‘अफर’ को चर्चाले तरंगित बन्यो ।

माओ‌वादीका अध्यक्ष प्रचण्डले केही दिन अघि आफूलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आएको भए पनि त्यसलाई अस्वीकार गरेको दाबी गरेका थिए । उनको दाबीलाई बल पुग्ने गरी एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि प्रचण्डलाई मात्र नभएर आफूलाई पनि प्रधानमन्त्री बन्न प्रस्ताव आइरहेको दाबी गरेसँगै यस विषय चर्चामा रहेको छ ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको अफर आएको बताए पनि कुन दल र कसले भन्ने खुलाएनन् । ‘प्रचण्डजीले एउटा कार्यक्रममा भन्नुभयो, मलाई प्रधानमन्त्रीको अफर आयो। त्यसपछि मैले जवाफ दिदैँ भनेको थिएँ, प्रचण्ड कमरेड, तपाईंलाई मात्र होइन, अन्त पनि आएको होला है’, अध्यक्ष नेपालले भने ।

स्थानीय तह निर्वाचनको परिणाम आएपछि तीन ठूला कम्युनिस्ट पार्टी वाम गठबन्धनतर्फ उन्मुख भएको समाचारहरु सार्वजनिक भइरहँदा प्रचण्ड र माधव स्वयंले प्रधानमन्त्रीको अफर आएको बताएसँगै सत्ता गठबन्धनको मुख्य दल कांग्रेसका नेताहरु सशंकित बनेका छन् ।

वाम गठबन्धनको विषयमा ति दलहरुबीच भित्रभित्रै छलफल भइरहेको र खासगरी एमालेले यसको अगुवाइ थालेको समाचारहरु बाहिरिँदा पाँच वर्ष पहिला जस्तै चुनावको समयमा वाम गठबन्धन बन्ने त होइन भन्ने प्रश्न कांग्रेस र तीन दलका कार्यकर्तामा प्रश्न उब्जिएको छ । तर, तत्कालीन नेकपामा विवाद भएदेखि अध्यक्ष केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी गरेका र अहिले दुई फरक फरक पार्टीका अध्यक्ष प्रचण्ड र नेपालले वाम गठबन्धनको विषयलाई अस्वीकार गरिदिएका छन् ।

समाजवादीका अध्यक्ष नेपालले एमाले गठबन्धनको विकल्प हुन नसक्ने र एमालेसँग एकताको सम्भाना नै नभएको बताएसँगै आगामी प्रतिनिधि सभा निर्वाचनमा गठबन्धन बन्ने सम्भावना कमजोर देखिएको छ ।

प्रधानमन्त्रीको ‘कार्ड’ फालेर भूलभूलैयामा पार्न र मुर्ख बनाउन खोजेको अध्यक्ष नेपालको भनाइ छ । ‘यो कार्ड प्रयोग गर्ने तरिका, मान्छेलाई मूर्ख बनाउन सकिन्छ भन्ने ठूलो भ्रम हो । यस्तो चालबाजीको तरिकाले विगतमा पनि नोक्सान मात्र गर्‍यो’, अध्यक्ष नेपालले भने, ‘अब पनि चालबाजीको सहारा लिने रु मान्छेलाई लोभ देखाउन सकिन्छ कि, लालच देखाएर सकिन्छ कि, यो तरिका नगरौं ।’ उनले यस्ता लोभलालचा भुलभुलैयामा पर्ने मान्छे आफू नभएको भन्दै प्रधानमन्त्रीको प्रस्तावमा नलोभिने दाबी गरे ।

एमालेलाई देखाएर बार्गेनिङ:

प्रचण्ड र माधव दुवै जनाले आफूहरुलाई प्रधानमन्त्री प्रस्ताव आएको दाबी गरिरहँदा त्यस्तो प्रस्ताव प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट आएको होला भन्ने सहज अनुमान भइरहेका छन् । एमालेले स्थानीय तह चुनाव अघि नै सत्ता गठबन्धनमा विभाजन ल्याउन निकै कसरत गरेको थियो तर त्यसमा उसलाई सफलता हात परेन ।

स्थानीय तह निर्वाचनमा गठबन्धनसँग प्रतिस्पर्धामा उत्रिँदा कम्तिमा पनि १ सय सिट गुमाउनु परेको एमालेको नेताहरु बताउँछन् । कात्तिक वा मंसिरमा प्रतिनिधि सभा निर्वाचन गर्नेबारे गठबन्धन दलहरुबीच छलफल भइरहँदा एमाले उक्त निर्वाचनमा एक्ला एक्लै प्रतिस्पर्धामा जान चाँहिरहेको छ ।

एक्ला एक्लै प्रतिस्पर्धामा जाँदा कांग्रेसँग आफ्नो मुख्य प्रतिस्पर्धा हुने र त्यहाँबाट सिंहदरबारको यात्र गर्न सहज हुने उसको बुझाइ छ । एमाले अध्यक्ष ओलीले बारम्बार आफूहरु झस्केलोबाट नभइ मूल ढोकाबाट सिंहदरबार प्रवेश गर्ने दाबी गरिरहेका छन् तर उनको यस्तो दाबीमा गठबन्धन बाधक हुने उनले बुझेका छन् । त्यसैले एमालेले गठबन्धनमा विभाजन ल्याउन हरसम्भव प्रयास गर्ने कांग्रेससहित गठबन्धनका नेताहरुले बुझेका छन् ।

प्रचण्ड र माधवलाई प्रधानमन्त्रीको प्रस्ताव आएको दाबी गरिए पनि आफूहरुले त्यस्तो नगरेको एमाले नेताहरुले बताएका छन् । एमाले उपाध्यक्ष विष्णु पौडेलले एमालेबाट यस्तो खालको प्रस्ताव नगएको दाबी गरेका छन् । उनले आगामी दिनमा पनि त्यस्तो सम्भावना नभएको बताएका छन् ।

एमालेले प्रस्ताव नगरेको उनको दाबीलाई सही मान्ने हो भने उनीहरुलाई कसले प्रधानमन्त्रीको अफर गरेको छ भन्ने प्रश्न उब्जिनु स्वभाविक छ । अहिले सरकारको नेतृत्व कांग्रेसले गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा स्वयंले सत्ताको नेतृत्व गरिरहेका बेला कांग्रेसबाटै त्यस्तो प्रस्ताव जाने सम्भावना न्यून छ । पार्टीमा देउवा बलियो अवस्थामा छन् । केन्द्रीय समितिमा बिरोध हुँदा हुँदै त उनले स्थानीय तह निर्वाचनमा सबैलाई ुलतारेरु गठबन्धनको पक्षमा लान सकेका थिए भने उनको विकल्पमा कांग्रेसका कुनै पनि नेताले प्रचण्ड र माधवलाई सत्ताको साँचो बुझाउ नसक्ने कांग्रेसका एक नेताले बताए ।

त्यसो भए प्रधानमन्त्रीको अफर आएको विषय के हो त भन्ने प्रश्नमा उनले भने, ‘स्थानीय तहको चुनावबाट कांग्रेसको आडमा चुनाव जित्न सकिने रहेछ भन्ने उहाँहरुले थाहा पाउनु भयो । अब प्रतिनिधि सभा निर्वाचन गर्ने विषयमा छलफल सुरु भएपछि बढी सीट पाउनका लागि गरिएको बार्गेनिङ हो ।’

त्यसो त एमाले नेताहरुले पनि प्रचण्ड र माधवले आफूहरुलाई देखाएर कांग्रेससँग बार्गेनिङ थालेको बताउँछन् । नेकपा एमालेका एक नेताले भने, ‘स्थानीय तहको चुनावको समीक्षा भइरहेको छ । जित हारका विवेचना भइरहेका छन् । चुनावको समय आएको छैन र देउवाको सट्टा अरु कसैलाई प्रधानमन्त्री बनाउनु पर्ने हतारो एमालेलाई छैन । यस्तो समयमा दुवै जनाले एउटै बोली बोल्नुमा कांग्रेसलाई थर्काएर राख्ने रणनीति देखिन्छ ।’

गठबन्धनमा तिक्तता बढेको समय पारेर योजनाबद्ध रुपमा यस्ता विषयहरुलाई उचालिएको उनी बताउँछन् ।