शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायन रोक्नुपर्छः प्रधानमन्त्री

शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायन रोक्नुपर्छः प्रधानमन्त्री


ग्लोब नेपाल
162
Shares

बनेपा । प्रधानमन्त्री शेरबहादुर देउवाले देशभित्र रहेको बढ्दो शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई न्यूनीकरण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

काठमाडौँ विश्वविद्यालय (केयू) को २७ औँ दीक्षान्त समारोहको (दोस्रो चरण) लाई शुक्रबार सम्बोधन गर्दैं प्रधानमन्त्री देउवाले युवा जनशक्तिलाई उनीहरूको रुचि र विश्व बजारको मागअनुसारको गुणस्तरीय शिक्षा उपलब्ध गराउने वातावरण निर्माण गर्न आग्रह गरे । उनले बढ्दो शैक्षिक बेरोजगारी हटाइ बौद्धिक प्रतिभा पलायनलाई नरोक्दासम्म मुलुकमा उज्यालो भविष्य सुनिश्चित गर्न नसकिने बताए ।

प्रधानमन्त्री देउवाले शिक्षित युवा जनशक्ति मुलुकको विकास र परिवर्तनका संवाहक भएकाले दीक्षित युवा जनशक्तिलाई त्यसतर्फ ध्यान दिन आग्रह गरे । त्यसका लागि विश्वविद्यालयलाई आवश्यक पर्ने सहयोग र सहजीकरणका लागि सरकार तयार रहेको पनि उनले बताए ।

उनले विश्वव्यापी रुपमा फैलिएको कोभिड– १९ को महामारीका बिचमा पनि आफ्ना शैक्षिक क्यालेन्डर अनुसार कार्यक्रमलाई निरन्तरता दिएको र बौद्धिक जनशक्तिको पलायनलाई रोक्न सीपयुक्त जनशक्ति उत्पादनमा लागेको भन्दै विश्वविद्यालयको भूमिका प्रशंसनीय रहेको बताए ।

प्रधानमन्त्री देउवाले आगामी दिनमा मुलुकभित्र रहेको खनिज पदार्थ परिचालन, प्रशोधन तथा जलविद्युत् व्यवस्थापन र जलवायु न्यूनीकरण, जैविक वनस्पतीय जडीबुटीको खोज र अनुसन्धान क्षेत्रमा गुणस्तरीय जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक सामाजिक विकासमा थप टेवा पुर्‍याउन पनि विश्वविद्यालयलाई आग्रह गरे ।

साथै प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय स्तरमा पहुँच पुर्‍याउने काममा थप अग्रसर हुन पनि विश्वविद्यालयलाई आग्रह गरे ।