भट्टी

भट्टी



उनी रक्सी, जाँड र मासु बेच्छिन्, माछा पनि पाकेकै हुन्छ उनको भान्सामा । भट्टी भने पनि हुन्छ तर पसल्नी नानी ‘त्यसो नभन्ने हो कि’ भनेर हाँस्छिन् । पाकेको कुरा बाँकी रहँदैन बेलुकासम्ममा । बाँकी रहेमा घरका सबै मिलेर खाने गरिँदो रहेछ । सबै भनेका घर परिवारका सदस्यहरु भनेर बुझ्नु पर्ने हुन्छ । रक्सी आफ्नै घरमा नबनाउने भएर उनले होटेललाई भट्टी भन्न मन नपराएको रे ।
‘जाँड नि ?’
‘त्यो त बनाउँछु र चखाउँछु पनि ।’ डबकामा बेच्ने चलन छैन । बोतलमा राखेर स्टिलको कप वा काँचका गिलासमा हालेर ख्वाउछिन् । भन्छिन् – ‘यहीँ एउटा झार छ । त्यसैले मात लगाउने काम गर्छ । भातलाई बिग्रन पनि दिँदैन ।’
‘त्यसको नाम नि ?’
‘अहँ, भन्न मिल्दैन ।’ भन्दै खितितिती हाँस्छिन् – ‘भनेपछि ओखती लाग्दैन रे त ।’
पैसा त राम्रै कमाइ हुन्छ जाँड, रक्सीबाट । बाटो हिँड्दै गरेका बूढाबूढीसमेत यसो घुट्क्याउँ न भन्दै पस्छन् । खासगरी बूढाहरू । बूढीहरू कमै पस्छन् जाँड वा रक्सी खान । कस्तो सभ्यता आयो भने गाउँ पस्दा नै घुट्क्याउने बानी परेको छ धेरैलाई । गाउँको पल्लो छेउमा खुलेको होटेलले ड्राइभर, खलासी र बटुवालाई त्राण भएको छ ।
अचम्म छ, पसल्नी नानीचाहिँ आफू रक्सी, जाँड केही पनि खान्नन् र भन्छिन् –‘बेच्न पनि घिन लाग्छ, राख्न पनि घिन लाग्छ तर यसैमा पैसा आउँछ, के गर्ने ? जाँड र रक्सी नखानेहरू त मेरा घरमा पानी पनि खान मान्दैनन् । त्यो बेलामा चाहिँ दिक्क लाग्छ ।’

उनलाई सधैँ दिक्क लाग्ने कुरा के हो भने – केटाकेटीले यो सबै देख्छन् । मातेको मान्छेसँग कुरा गरेको सुन्छन् । मातेको मानिस होसमा हुँदैन । मात्न थालेपछि उसले आफूसँग भएको सबै पैसा देखाउन थाल्छ । घरबाट टाढा हुनुपर्दाको दुखेसो पोख्न थाल्छ । त्यतिबेला कुरो बुझे पनि नबुझेजस्तो गर्नुपर्छ । साँच्चा साँच्चा कुरा पो गर्न थाल्छन् मातेका झाेंकमा । तिनले भन्ने कुराको कुनै सीमा हुँदैन । रक्सी दियो, जाँड दियो, मासु दियो अनि भन्न थाल्छन् ‘उधारोमा टिप है ।’ अनि गाडी लिएर कता हो कता हिँड्छन् । बसुन्जेल चिने जस्तै, गए पछि कता हो कता ! त्यसैले तिनीहरूसँग पैसा हुन्जेलसम्म नै धेरै पैसा उठाउने गर्नुपर्छ ।

जुन बेला सँगै कोही हुँदैनन्, सबैजना काममा गएका हुन्छन् वा सँगै भएकालाई पनि कतै काममा पठाउनु पर्छ र एक्लै हुनुपर्ने हुन्छ, त्यतिबेला उनको आङ ढक्क फुल्छ – कतिबेर, कस्तो जँड्याहा आउने हो ! तर उनले डर मानेर कसरी चल्छ र ! रक्सीको व्यापार गर्नु छ भने जे होला, जोसुकै आउला भनेर मुटु दह्रो पारेर बस्नुपर्छ ।

थरीथरीका आउँछन् । कोही जिस्किन्छन् मात्र । कोही घुमाउरो पारामा जे पनि माग्छन् । उनलाई लाग्छ, छोरीहरूलाई जिस्काएको सुन्नुभन्दा आफैँलाई जिस्काएको ठीक । जिस्क्याएसम्म त ठिकै हो, कसैले ‘पसल्नीलाई नै पट्याएँ’ पो भन्दै हिँड्ने हो कि भन्ने डर पनि लाग्छ । बूढा छन् अलि झन्काहा । रक्सी बेच्न आफैँ कर गर्छन् अनि रक्सी खाने मानिस अबेरसम्म बस्यो भने ‘किन त्यो बसेको अबेरसम्म’ भनेर निहुँ पनि खोज्छन् । ‘त्यसलाई किन मात्ने गरी खान दिएको’ भनेर झगडा गर्न थाल्छन् ।
कोही कोही रक्सी बेच्न र मासु बेच्न पाए हुन्थ्यो भन्दै जागिर खोज्न पनि आउँछन् । धेरैजसो तरुनीहरू आउँछन् – बिहे नभएका, लोग्नेले छोडेका, लोग्ने विदेस गएका र अन्त कतै भट्टी चलाएका यस्तैयस्तै । उनी तिनहरूलाई भन्छिन् –‘आफैँलाई त बेच्न पुगेको छैन, अरूलाई कसरी ठाउँ दिने ?’ उनलाई लाग्छ – कसको के भर छ र !

आफू नखाने तर बेच्नै पर्ने, कस्तो बाध्यता हो ! कहिलेकाहीँ राती निदाउनुअघि उनी कुरा गुन्छिन् – गाउँको बिग्रेको अवस्थामा आफू पनि पो सहयोगी भइएको हो कि ! यस्तो सम्झँदा डर पनि लाग्छ, पीर पनि लाग्छ । तर बिहान नउठ्दै कोही ढोका ढक्ढक्याउन आइपुगिसक्छ –‘साहुनी, आधा गिलास लोकल दिनुस् न ।’ दिनभर त्यस्तै हुन्छ । कतै ढोका लगाएर गएकी भए पनि फोन गर्छन् ग्राहकले चाँडै आउनका लागि । एक घुट्की घुट्क्याउन ।

धेरै ग्राहक आउँछन् र लैजाने कुरा पनि गर्छन् । माया गरेको जस्तो पनि गर्छन् । उनी सबैका कुरालाई सामान्य रूपमा लिएझैँ गर्छिन् । उनको संसार आफ्नै छ र पनि कसैको प्रस्तावको न त विरोध गर्छिन्, न त स्वीकार नै । ग्राहक त देवता हुन् भन्दै सबै कुरा सहने र चुपचाप बस्ने बानी बसिसक्यो उनको । ग्राहक रिसाएमा व्यापार हुँदैन भन्ने त्रास पनि हुनसक्छ । जबकि उनी वाचालमा पर्छिन् गाउँमा । उनलाई थाहा छ – जस्तो रक्सीको मात हो, त्यस्तै हो ग्राहकको माया पनि । केही छिनमा आफैँ हराउँछ पानीको फोकाझैँ ।

रक्सी, ग्राहक र माया । रक्सी पसलका यी स्थायी भ्रम हुन् र निरन्तर चल्ने भयानक वृत्तको पाटो पनि हुन् । नियमित आकस्मिकता । रक्सी ग्राहकविना चल्दैन । ग्राहक रक्सी खाएपछि मायाका कुरा नगरी रहन सक्दैन र एकछिनपछि ती सबै आफैँ हराउँछन् । कुनै माया त स्थायी पनि हुनसक्ला तर मनभित्र मात्रै । बाहिर भन्न नमिल्ने ।

रातदिनको चटारो छ उनलाई । ग्राहक, रक्सी, पैसा, उधारो अनि घरको टन्टा । बस्तुभाउ, ऋणको व्यवस्थापन, उधारो उठाउने झन्झट अनि नगदको कारोबारमा आउने नाफा । ‘यसरी नै जाने भो जिन्दगी’ भन्दै उनी एक्लै फतफताउँछिन् । तर फतफताइरहन पनि कहाँ उनलाई फुर्सद छ र ! ग्राहकसँग हाँसेर बोल्नै पर्ने हुन्छ । हँसिली पसल्नीको अनुहारले सबैलाई लट्ठ पार्ने गर्छ । उनका बूढा पनि चल्तापुर्जाकी बूढी पाएकोमा मख्ख पर्छन् र भगवानलाई धन्यवाद दिन्छन् ।
ग्राहकहरू भन्छन्– ‘यी छोराछोरीहरू त ठ्याक्कै बाबु जस्ता !
पसल्नी खिसिक्क हाँस्छिन् र भन्छिन् – ‘मजस्ता कि बूढाजस्ता ?’ अनि अतीतका पाना आफैँ पल्टाउँदै केटाकेटीहरूलाई होमवर्क गर्न कराउन थाल्छिन् ।
पसल्नीलाई गाउँ घरमा सबैले साहै्र फरासिली भन्छन् र छिन् पनि त्यस्तै ।
कसैकसैले भन्छन्– ‘यो काम नगरेर अरू नै काम गरे हुने ।’
उनी हाक्काहाक्की भन्छिन्– ‘जहान पाल्नु छ । छोराछोरीको शिक्षा, स्वास्थ्यको पनि ख्याल गर्नु छ । खाँचो नभए को यस्तो व्यापार गथ्र्यो र !’ उनलाई आफ्नो पेसा मन नपरे पनि चित्त बुझाउने काम गरेको बुझ्न सकिन्छ ।
पसल्नीलाई आफूले पढ्न नपाएकोमा पछुतो छ । ग्राहकलाई सुनाउँछिन् –‘म त क्लासकी फस्ट पो थिएँ ।’
ग्राहक प्रश्न गर्छन्– ‘अनि किन पढ्न छोडेको त ?’
उनी भन्छिन् –‘त्यस्तै ६ क्लासमा पढ्दा हो, एकदिन सरले होमवर्क नगरेको निहुँमा सारै नै पिट्नु भो । त्यसपछि कहिल्यै स्कुल गइएन ।’
ग्राहकले हो, होइन भन्ने खोजी गर्ने कुरा आएन । जे सुन्यो, त्यही पत्याउनै प¥यो । कुरा भने अर्कै छ – उनी किन स्कुल गइनन् र किन पढिनन् भन्ने कुरा थोरैलाई मात्र थाहा छ । उनी ती दिनलाई सम्झेर खिसिक्क हाँस्छिन् र एकपल्ट आफूलाई ऐनामा गएर हेर्छिन् । उनको अनुहारमा ‘अझै कहाँ कम छु र ?’ भन्ने भाव झल्किन्छ अनि आफ्नी ठूली छोरीलाई हेरेर मुसुक्क हाँस्छिन् । आफू ठुलै उमेरमा पढ्न गएकी थिइन् र जेजे भयो, अब किन सम्झनु भन्ने ठान्छिन् । तर बिर्सनु त कसरी र ! जो जीवनको बिहानीमा नै घटेको थियो ।

यसपटकको तीजमा पशुपति जाने उनको इच्छा छ, भाकल छ रे बूढाका लागि । ग्राहकहरूलाई सुनाउँछिन् –‘केही दिन भट्टी बन्द गरेर भए पनि आफू त काठमाडौँ जाने हो । तीजका दिन पशुपतिमा गएर बूढाका लागि राम्रै आशीर्वाद माग्ने हो ।’
ग्राहकहरू भने त्यसमा पनि खिज्याउँछन् र भन्छन् –‘यही जुनीका बूढाका लागि कि अर्को जुनीका बूढाका लागि ? कतिओटा बूढाका लागि ?’
उनी नरिसाई भन्छिन्– ‘सात जुनी त उहाँसँगै बस्ने निर्णय भइसक्यो ।’ यो बेला उनको अतीत कतै सुनिँदैन । वर्तमान मात्र सुनिन्छ ।