काठमाडौं । कर्नाटक टोलीसँगको पाँच वटा अभ्यास खेलको शृंखला यू-१९ नेपाली क्रिकेट टोलीले जितेको छ । आज भएको पाँचौं तथा अन्तिम खेलमा कर्नाटक यू-१९ टोलीलाई ७ विकेटले हराउँदै नेपाली युवा टोलीले शृङ्खला जितेको हो ।
कर्नाटकले दिएको १ सय ९२ रनको लक्ष्य नेपालले ४० ओभर ३ बलमा ३ विकेट गुमाएर भेटायो । नेपालका आकाश त्रिपाठीले नटआउट ८९ रन बनाए । यस्तै मयन यादवले ५० रन जोडे । कर्नाटकका प्रणव अश्वथले २ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्नाटकको टोलीले ५० ओभरमा सबै विकेट गुमाएर १ सय ९१ रन बनायो । कर्नाटकका कप्तान रोहितले सबैभन्दा धेरै ४१ रन बनाए । नेपाली युवा टोलीका कप्तान हेमन्त धामीले ३ तथा अभिषेक तिवारी, नरेन सुद र युवराज खत्रीले २/२ विकेट लिए ।
शृङ्खलाको पहिलो खेलमा कर्नाटक विजयी भएको थियो भने दोस्रो खेल नेपालले जितेको थियो । यस्तै तेस्रो खेलमा नेपाल विजयी हुँदा चौथो खेल कर्नाटकले जितेको थियो । नेपाली युवा टोलीले एशिया कपअघिको अन्तिम तयारी स्वरूप कर्नाटकको टोलीसँग ५० ओभरको पाँच वटा अभ्यास खेल खेलेको हो ।
प्रतिक्रिया