अछाममा किशोर मृत्यु प्रकरणः दोषीलाई पक्राउ गरि कारबाही गर्न अनेरास्ववियुको माग

अछाममा किशोर मृत्यु प्रकरणः दोषीलाई पक्राउ गरि कारबाही गर्न अनेरास्ववियुको माग


ग्लोब नेपाल
837
Shares

कैलाली । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा मृत अवस्थामा फेला परेका १५ वर्षीय किशोर विनोद शाहीको हत्या गरिएको एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटीले जनाएको छ ।

नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटिले यहाँका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहनकुमार आचार्यलाई ज्ञापन पत्र बुझाउँदै घटनाको सत्यतथ्य अनुसन्धान गरेर दोषीलाई तत्काल कारवाहीको दायरामा ल्याउन माग गरेको हो।

स्थानीय तहको निर्वाचनमा भएको सामान्य विवादलाई लिएर १७ जेठदेखि बेपत्ता भएका शाहीको विभत्स हत्या गरेको अवस्थामा भेटिएको तर त्यसअघि प्रहरी प्रशासनले खोजीमा उदासिनता देखाएकै कारण घटना भएको आशंका गरिएको छ। ‘पाँच दिनदेखि हराइरहेको बालकको खोजीमा प्रशासनको उदासिनताले कतै प्रहरी प्रशासनको मिलेमतोमा हत्या भएको त भन्ने आशंका पैदा भएको छ,’ अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटि सहसंयोजक कल्पना पाल र सचिव मनोज राईद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ, ‘यथाशिघ्र दोषीलाई पक्राउ गरि हदैसम्मको कारवाहीका लागि नेपाल प्रहरी समक्ष जोडदार माग गर्दछौँ।’ ज्ञापन पत्र बुझ्दै डीआईजी आचार्यले घटनाबारे गम्भीर भएको बताउँदै सुक्ष्म ढंगले अनुसन्धान भइरहेकाले दोषीलाई कारवाहीको दायरामा ल्याएर छाड्ने प्रतिबद्धता जनाएका छन्। 

जेठ १७ गतेदेखि हराइरहेका शाही शनिबार मात्र मृत अवस्थामा फेला परेका थिए। घटनाको अनुसन्धानका लागि धनगढीबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टको नेतृत्वमा कुकुरसहितको टोली परिचालन गरिएको छ।