अछाममा मृत भेटिएका १५ वर्षीय किशोरको शव ३ दिनदेखि घटनास्थलमै

अछाममा मृत भेटिएका १५ वर्षीय किशोरको शव ३ दिनदेखि घटनास्थलमै


ग्लोब नेपाल
81
Shares

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर-४ का १५ वर्षीय विनोद शाही मृत भेटिएको घटनामा प्रहरीले जाहेरी लिन नमानेको भन्दै स्थानीय आन्दोलित भएपछि तीन दिनदेखि शव उठाइएको छैन ।

१७ जेठमा बेपत्ता भएर शनिबार बिहान घर नजिकैको जंगलमा मृत भेटिएका शाहीको हत्या गरिएको दाबीसहित आफन्तले दिएको किटानी जाहेरी प्रहरीले दर्ता नगरेको भन्दै स्थानीयले आन्दोलन गरिरहेका छन् । उनीहरुले जाहेरी नलिएसम्म शव नउठाउने अडान लिएका छन् । प्रहरीले भने किटानी जाहेरी दर्ताकै प्रक्रियामा रहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक कैलाश विष्टले किटानी जाहेरी दर्ताको प्रक्रियामा रहेको बताउँदै स्थानीयको आन्दोलनका कारण शव उठाउन नसकिएको बताए ।

दोषीलाई कारबाहीको माग राख्दै आन्दोलनमा उत्रिएका स्थानीयले स्थानीय विनायक बजार बन्द गर्नुका साथै पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेको घरमा समेत तोडफोड गरेका छन् ।

घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहित आइतबार डीएसपी मनोहरप्रसाद भट्टको कमाण्डमा सीआईबीको टोली अछाम पुगेको छ ।