मतदाता नामावली सङ्कलन कार्यक्रम १ असारदेखि

मतदाता नामावली सङ्कलन कार्यक्रम १ असारदेखि


ग्लोब नेपाल
243
Shares

काठमाडौँ । निर्वाचन आयोगले आगामी असार १ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

स्थानीय तह निर्वाचन मिति घोषणा भएपछि गत माघ २५ गतेदेखि स्थगित नामावली सङ्कलन आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी सञ्चालन गर्ने निर्णय गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । माघ २५ गतेदेखि यही जेठ मसान्तसम्म नागरिकता लिएका र मतदाता नामावली ऐन, २०७३ बमोजिम योग्यता पुगी नाम दर्ता गर्न छुट भएका सबै नेपाली नागरिकहरूले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गई आ-आफ्नो नाम दर्ता गराउन सक्ने प्रवक्ता पौडेलले बताए ।

यस कार्यक्रम अन्तर्गत नाम दर्ता गर्न, विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदान स्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउन सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ । 

पेशा, व्यवसायको कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको तर आफ्नो स्थायी ठेगाना अर्को जिल्लामा रहेको भए त्यस्तो व्यक्तिले नाम दर्ताको लागि आवश्यक प्रमाणसहित आफू रहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिएमा त्यस्तो व्यक्तिको नाम निजको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्ला मतदाता दर्ता (Out of District Registration ODR) कार्यक्रम समेत सञ्चालन हुने प्रवक्ता पौडेलले जानकारी दिए ।  

आगामी निर्वाचनमा कोही पनि नछुट्ने गरी आफ्नो नाम दर्ता गर्न तथा विवरण अद्यावधिक गर्न आयोगले सबैमा आग्रह गरेको छ।