हत्या आरोपमा पक्राउ परेका वडाध्यक्षसहित ३ जनालाई थुनामा राख्न आदेश

हत्या आरोपमा पक्राउ परेका वडाध्यक्षसहित ३ जनालाई थुनामा राख्न आदेश


ग्लोब नेपाल
135
Shares

रुकुमपूर्व । रुकुमपूर्वमा महिलाको हत्या आरोपमा पक्राउ परेका वडाध्यक्षसहित ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ ।

रुकुमकोट जिल्ला अदालतका न्यायाधीश सनतचन्द्र लवटको इजलासले रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–११ का नवनिर्वाचित वडाध्यक्ष कुमारसिंह बुढासहित ३ जनालाई थुनामा राख्न आदेश दिएको हो ।

सोमवार वडाध्यक्षसँगै सोही वडाका निवर्तमान वडाध्यक्ष जयबहादुर बुढा र उनका भाइ अर्जुन बुढालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले पुथा उत्तरगंगा गाउँपालिका–१० की ३९ वर्षीया दुँठी बुढा भन्ने जुनमाया बुढाको हत्या आरोपमा निजहरूलाई कारागार चलान गर्ने आदेश भएको बताए । वैशाख १९ गते पुथा उत्तरगंगा गाउँपालिका–१० तकसेरामा स्थानीय निर्वाचन प्रचारप्रसारका क्रममा भएको विवाद मिलाउन जुनमाया बुढा माओवादी कार्यकर्ताले अपहरण गरेर हत्या गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको थियो ।

निजहरूसहित नाम नखुलाइएका २० जनाविरुद्ध २० गते किटानी जाहेरी परेको थियो भने २८ गते ३ जनालाई पक्राउ गरिएको थियो । वडाध्यक्षमा विजयी भएका कुमारसिंह बुढा मतदानको अवधिमा पनि प्रहरी हिरासतमै थिए । अपहरणमा परेकी बुढालाई खोज्ने क्रममा स्थानीयले तकसेरादेखि करीब ४ किलोमिटरमाथि जंगलमा शव फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।

मृतक जुनमाया बुढाको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लिएर परीक्षण गरिएको थियो । जेल चलान भएका सिंह गत वैशाख ३० गते भएको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् । उनी मतदान हुनुअघि नै पक्राउ परिसकेका थिए ।