आईजीपी सिंहले अस्वीकृत गरे एआईजी विश्वराज पोखरेलको बिदा

आईजीपी सिंहले अस्वीकृत गरे एआईजी विश्वराज पोखरेलको बिदा


ग्लोब नेपाल
296.2k
Shares

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले थप १० दिनका लागि मागेको बिदा आईजीपी धीरजप्रताप सिंहले अस्वीकृत गरिदिएका छन्। आईजीपी नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट हालेका एआईजी पोखरेलले थप १० दिनको बिदाका लागि निवेदन दिएका थिए ।

एआईजी पाेखरेलले आफ्ना सहयोगीमार्फत मङ्गलवार १० दिनको बिदाका लागि प्रहरी प्रधान कार्यालयलाई निवेदन पठाएका थिए । उनको बिदा अस्वीकृत भएको प्रहरी प्रवक्ता विष्णुकुमार केसीले बताए । पोखरेल यसअघि वैशाख १९ गतेदेखि बिदा बसिरहेका छन् । अब बिदा अस्वीकृत भएको जानकारी पोखरेललाई गराइने केसीले बताए ।

सरकारले धिरज प्रताप सिंहलाई आईजीपी नियुक्त गरेको भोलिपल्ट पोखरेलले जेठ २५ गतेसम्मका लागि बिदाको निवेदन दिएका थिए। त्यसयता पोखरेल हेडक्वार्टर गएका छैनन् । पोखरेल १५ दिनसम्म गयल भए प्रहरी प्रधान कार्यालयले सूचना निकाल्छ र एक साताभित्र सम्पर्कमा आउनु भन्ने छ । त्यसभित्र पनि हाजिर नभए पोखरेलमाथि कारबाही हुने बताइएको छ ।

पोखरेलले ज्येष्ठता मिचेर आईजीपी बनाइएको भन्दै वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आईजीपी बनाएर आफूलाई सरकारले अन्याय गरेको दाबी पोखरेलको छ ।