मदन पुरस्कार कृति ‘खलंगामा हमला’ माथि फिल्म बन्ने

मदन पुरस्कार कृति ‘खलंगामा हमला’ माथि फिल्म बन्ने


ग्लोब नेपाल
243
Shares

काठमाडाैं । २०७० सालमा मदन पुरस्कार प्राप्त गरेको कृति ‘खलंगामा हमला : जुम्ला अ नर्स स्टोरी’माथि फिल्म निर्माण हुने भएको छ । राधा पौडेलद्वारा लिखित कृतिमाथि बन्न लागेको फिल्मको मंगलवार राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरियो । विनोद विष्टले फिल्मको निर्देशन गर्नेछन् । उनले यसअघि झमक घिमिरेद्वारा लिखित पुस्तक ‘जीवन काँडा कि फूल’माथि फिल्म बनाएका थिए ।

फिल्म घोषणा कार्यक्रममा निर्देशक विष्टले अब स्क्रिप्ट लेखन सुरु गरेर आगामी वर्ष छायांकनमा निस्कने योजना रहेको बताए । उनले भने, ‘अहिले हामी एकदमै सुरुवाती अवस्थामा छौं । स्क्रिप्टलाई अन्तिम रुप दिन करीब ८/९ महिना लाग्न सक्छ । लेखिका राधा पौडेलसँग नै बसेर हामी स्क्रिप्टलाई फाइनल गर्नेछौं । त्यसपछि कलाकार र प्राविधिक छनोट गरेर छायांकनमा निस्कने छौं ।’

किताबमाथि फिल्म बनाउँदा किताबभन्दा बाहिर निस्कन नमिल्ने भएपनि ‘खलंगामा हमला’ले आफैंमा सिनेम्याट्रिक कथा भनेको उनको भनाई छ । पुस्तकमा भएको कुरालाई न्यायपूर्वक फिल्ममा उतार्न आफूले प्रयास गर्ने निर्देशक विष्ट बताउँछन् । राधा पौडेलको जीवनमा ३० वर्षअघि घटेको घटना भएकाले पौडेलको चरित्रमा राम्रो फेस भ्यालु भएको कलाकार राख्ने उनले बताए ।

त्यस्तै, कृतिकी लेखिका पौडेलले ‘खलंगामा हमला’माथि फिल्म बनाउन यसअघि केही नेपाली र विदेशी मेकरले प्रस्ताव राखेको भएपनि झमक घिमिरेको कृतिमाथि फिल्म बनाइसकेका कारण निर्देशक विष्टप्रति आफ्नो सम्मान र विश्वास बढेकाले फिल्म बनाउन अनुमति दिएको बताइन् । उनले फिल्मको स्क्रिप्ट लेखनदेखि छायांकनसम्म आफू उपस्थित रहने पनि जानकारी गराइन् ।

उनले भनिन्, ‘म फिल्मको बारेमा टेक्निकली केही जाँन्दिनँ । फिल्म कसरी बनाउने भन्ने कुरा निर्देशकको हातमा रहन्छ । तर, म स्क्रिप्ट लेखनदेखि छायांकनसम्म सँगै रहन्छु । त्यो ठाउँ यथावत् नै छ अनि म जीवितै छु । त्यसैले फिल्म राम्रो बन्छ होला भन्नेमा विश्वस्त छु ।’ उनले पुस्तकमा आफूले भोगेको कथालाई उतारेको भएपनि फिल्ममा आफैंले अभिनय गर्ने इच्छा नरहेको बताइन् ।

३ करोडको लागतमा बन्ने फिल्मको जुम्ला र चितवनमा छायांकन हुनेछ । २०५७ कात्तिक २७ गते राति माओवादीका लडाकुहरुले जुम्लाको सदरमुकाम खलंगमा आक्रमण गरेका थिए । त्यस समयमा राधा पौडेल जुम्लास्थित जिल्ला स्वास्थ्य कार्यालयमा नर्सको रुपमा कार्यरत थिइन् । भिषण आक्रमणको क्रममा गोली आफ्नो कोठामा छिरेको सन्दर्भलाई पौडेलले पुस्तकमा उतारेकी छिन् ।