केकी र आँचलको ‘झिँगेदाउ’ गीत खिच्न १५ लाख

केकी र आँचलको ‘झिँगेदाउ’ गीत खिच्न १५ लाख


ग्लोब नेपाल
135
Shares

काठमाडौं । लामो समयपछि निर्देशनमा फर्किएका ज्ञानेन्द्र देउजाले फिल्म ‘झिँगेदाउ’को कोरोना महामारीभन्दा अगाडि एक गीतबाहेक सम्पूर्ण छायांकन सकाएका थिए । उनले गीत बाहेकको पोस्ट प्रोडक्सनको काम पनि पूरा गरिसकेका छन् । फिल्मको प्रदर्शन मिति नजिकिँदै गएपछि देउजाले गीतको छायांकन पनि भ्याएका छन् । ललितपुरस्थित श्रीकाली चौरमा गीतको छायांकन भएको हो ।

लगातार परेको वर्षाका कारण चार दिन लगाएर बिहीवार गीतको छायांकन सकिएको निर्देशक देउजाले जानकारी दिए । उनले गीत खिच्न मात्र १५ लाखभन्दा बढी खर्च भएको बताए । फिल्मको कथाको मागअनुसार कुनै कुरामा कम्प्रमाइज नगरी छायांकन गर्दा ठूलो रकम खर्च भएको उनको भनाई छ । तर, काम राम्रो भएकाले बजेट बढेकोमा कुनै गुनासो नरहेको उनी बताउँछन् ।

रामजी लामिछाने कोरियोग्राफी गरेको फिल्ममा समावेश ‘ए माया तिमी विना जीवन चल्दैन’ गीतमा फिल्मका प्रमुख कलाकारहरु केकी अधिकारी आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्ट छन् । फिल्ममा केकीको जोडी मुकुन र आँचलको जोडी कुशल छन् । फिल्ममा जेठानी र देवरानीको भूमिकामा प्रस्तुत भएका केकी र आँचलले विवाहभन्दा अगाडि ‘झिँगेदाउ’मा अभिनय गरेका थिए ।

कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको फिल्म भिमनिधि तिवारीको चर्चित कथा ‘झिंगेदाउ’मा आधारित भएर निर्माण भएको हो । प्रदीप भारद्वाजको पटकथा तथा संवाद रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन र मित्र डि गुरुङले सम्पादनको जिम्मेवारी सम्हालेका छन् । फिल्ममा सुलभ, समिक्षा र सुशिल निर्माताको रुपमा छन् ।