सरकारको प्राथमिकता: पृथ्वी राजमार्गको विकल्प ‘बुद्धसिंह मार्ग’

सरकारको प्राथमिकता: पृथ्वी राजमार्गको विकल्प ‘बुद्धसिंह मार्ग’


ग्लोब नेपाल
81
Shares

तनहुँ । पृथ्वी राजमार्गको विकल्पका रूपमा रहेको बुद्धिसिंह मार्ग कालोपत्र गरिने भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा तनहुँको दमौलीदेखि चितवनको घुमाउनेसम्म जोडिने बुद्धिसिंह मार्ग कालोपत्र गर्न लागिएको हो ।

दमौलीदेखि सुढेसम्मको दश किलोमिटर सडक कालोपत्रका लागि टेन्डर भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । कार्यालयका अधिकृत दधिराज पौडेलले उक्त सडकखण्डमा कालोपत्रका लागि टेण्डर निकालिएको जानकारी दिए ।

प्रदेश सरकारले यो मार्गलाई प्राथमिकतामा राखेको छ । प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले यस वर्ष उक्त सडकका लागि ४६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए ।

‘प्रदेश सरकारले यो मार्गलाई प्राथमिकतामा राखेको छ, नीति तथा कार्यक्रममा पनि समावेश भएको छ,’ विश्वकर्माले भने, ‘पृथ्वी राजमार्गको विकल्प बन्न सक्ने यो बाटो स्तरोन्नतिमा प्रदेश सरकार प्रतिबद्ध छ ।’ चितवनको घुमाउनेमा पक्की पुल नहुँदा दमौलीबाट गएका सवारीसाधन पार गर्न मिल्दैन । ‘घुमाउनेमा पुल निर्माणमा ढिलाइ भएकाले पनि वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिएको छैन,’ उनले भने ।

विसं २०७५ माघमा सम्झौता भएको पुल विसं २०७८ पुस मसान्तसम्म सम्पन्न गर्नुपर्ने समयसीमा थियो । पुलको काम ३० प्रतिशत मात्रै सकिएको छ । हेटौँडास्थित मृत सञ्जीवनी कम्पनीले पुलको डिजाइन परिवर्तन र मुग्लिङ–नारायणगढ सडक आयोजनाको अवरोधका कारण काममा ढिलाइ भएको दाबी गर्दै आएको थियो ।

एक सय पाँच मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने उक्त पुल आधुनिक ‘आर्क’ डिजाइनमा बन्नेछ । पुलको लागत आठ करोड २६ लाख रुपैयाँ रहेको छ । उक्त पुल निर्माण सम्पन्न भएपछि गण्डकी प्रदेशको राजधानी पोखरासहित विभिन्न जिल्लाका नागरिकलाई चितवनसहित पूर्वी र पश्चिम तराई जान २५ किलोमिटर छोटो दूरी पर्छ ।

पोखरा-नारायणगढ सडकको विकल्पमा तयार गरिएको बुद्धिसिंहह मार्गको थप स्तरोन्नति र घुमाउनेमा पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई चितवन र तराईका विभिन्न जिल्लामा जान समय बचत हुन्छ । उक्त पुल निर्माणपछि घुमाउनेबाट तनहुँ सदरमुकाम दमौली निस्कन अहिले प्रयोग भइरहेको मुग्लिङ, आँबुखैरेनी र डुम्रे हुँदै जाने सडकभन्दा २५ किलोटिमर छोटो पर्न जान्छ ।

तनहुँको दमौलीबाट घुमाउनेघाटसम्म नियमित रुपमा साना बसहरू तथा दुईपाङ्ग्रे सवारी साधन आउने जाने गरे पनि दुईपाङ्ग्रे सवारी साधन भने झोलुङ्गेपुल तरेर मुग्लिङ-नारायणगढ सडकमा निस्कन्छ भने बस तथा अन्य सवारी साधन भने पुलको अभावमा उतै रोकिन बाध्य छन् ।

धेरै वर्ष पहिला यो सडकको ट्र्याक खोलिए पनि बजेट अभावमा काम अगाडि बढ्न सकेको छैन । पोखरा र दमौलीलाई नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धिसिंहह मार्गमा पर्ने साराङघाट केही वर्षअघिसम्म सुनसान र उजाड थियो । सडकको ट्र्याक खुलेसँगै यो मार्गमा अहिले व्यापारिक चहलपहलसमेत बढेको छ ।

बुद्धिसिंहह मार्गमा यातायात सञ्चालन सुरु भएपछि सडक क्षेत्रमा पर्ने साना बस्तीहरू अहिले बजार बनेका छन् । यो सडकअन्तर्गत पर्ने सबैभन्दा ठूलो बजार सराङघाट हो । बुद्धिसिंहह मार्गमा हाल दमौलीबाट दैनिक ६-७ वटा बस र उत्तिकै सङ्ख्यामा जीपहरु चल्ने गर्छन् । उक्त सवारी साधन आँबुखैरनी गाउँपालिका–६ को घुमाउनेसम्म पुगेर पुनः दमौलीतर्फ नै फर्कन्छन् । घुमाउनेमा मोटरेवल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहोर्‍याएर मुग्लिङ–नारायणगढ सडक खण्डसम्म ल्याउन सकिन्छ ।