प्रशारण लाइनमा मान्छे चढेपछि विद्युत उत्पादन बन्द, भारतबाट ल्याएर माग धानिँदै

प्रशारण लाइनमा मान्छे चढेपछि विद्युत उत्पादन बन्द, भारतबाट ल्याएर माग धानिँदै


ग्लोब नेपाल
513
Shares

काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका ७ मा उच्च भोल्टेज क्षमताको प्रसारण लाइनमा मानसिक सन्तुलन गुमाएका व्यक्ति चढेपछि माथिल्लो त्रिशूली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको छ ।

ककनी गाउँपालिका–७ स्थित त्रिशूली माता तीर्थ प्रसारण लाइनमा बिहान १० बजेबाट मानसिक सन्तुलन गुमाएका बेलकोटगढी नगरपालिका-१३ घलेगाउँका ४४ वर्षीय माइला बिक चढेपछि प्राधिकरणले आफ्ना विद्युत आयोजना बन्द गरेर प्रशारण लाइनमा विद्युत प्रवाह बन्द गरेको हो । प्राधिकरणकाअनुसार बिहान ११ बजेदेखि करिब ६५ मेगावाट बिजुली प्रणालीभन्दा बाहिर छ ।

प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार ६ घण्टादेखि माथिल्लो त्रिशूली-३ ‘ए’ र अर्को ५ मेगावाट जतिको सानो आयोजनाको बिजुली प्रसारण प्रभावित भएको हो । उनले बिजुली अभाव भएपछि लोड व्यवस्थापनका लागि कतै लाइन काट्ने र कतै कम क्षमतामा बिजुली पठाउने काम भईरहेको बताए । ‘६ घण्टादेखि माथिल्लो त्रिशूली-३ ‘ए’ र अर्को ५ मेगावाट जतिको सानो आयोजनाको बिजुली प्रसारण प्रभावित भएको छ,’ प्राधिकरणका प्रवक्ता भट्टराईले भने, ‘प्रणालीमा त्यत्ति ठूलो परिमाणमा बिजुली अभाव भएपछि लोड व्यवस्थापनका लागि कतै लाइन काट्ने, कतै कम क्षमतामा बिजुली पठाउने गरिरहेका छौं । भारतबाट पनि बिजुली ल्याइएको छ ।’

५ घण्टादेखि माथिल्लो त्रिशुली थ्री ए को उत्पादन बन्द भएपछि काठमाडौंमा विद्युत वितरणमा केही समस्या हुने उनले बताए । प्रशारण लाइनमा हिँडिरहेका विकको उद्धार प्रयास जारी रहेको छ ।

यो पनि: ककनीको विद्युत प्रसारण लाइनमा सन्की मान्छे चढेपछि ६० मेगावाटको आयोजना नै बन्द