एमाले सांसद चौधरीले मन्त्री झाँक्रीलाई ‘लिपस्टिक लगाएर सुन्दरी’ बन्ने भनेपछि…

एमाले सांसद चौधरीले मन्त्री झाँक्रीलाई ‘लिपस्टिक लगाएर सुन्दरी’ बन्ने भनेपछि…


ग्लोब नेपाल
387.7k
Shares

काठमाडौं । नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई ‘लिपस्टिक लगाएर सुन्दरी’ बन्ने भन्दै टिप्पणी गरेकी छिन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बजेटमाथिको विषयगत छलफलमा भाग लिने क्रममा उनी व्यक्तिगत टिप्पणीमा उत्रिएकी हुन्। प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकअन्तर्गत शहरी विकास मन्त्रालयको छलफलका क्रममा एमाले सांसद चौधरी झाँक्रीले लगाएको लिपस्टिकको चर्चा गरेकी थिइन् । उनले भनिन्, ‘सहरी मन्त्रीको कुरा थोरै जोड्छु। ओठमा लिपस्टिक लगाएर जति सुन्दरी बन्न चाहनुहुन्छ, त्योभन्दा धेरै स्मार्ट सिटी बनाउने दायित्व तपाईंसँग छ। आज काठमाडौं शहरमा दुर्गन्ध फैलिएको छ। तपाईंलाई त्यति पनि ज्ञान छैन भने घोराही उपमहानगरपालिकामा गएर हेर्नुहोस्। २० करोडको लगानीमा फोहरबाट वैकल्पिक ऊर्जा निकालिएको छ। काठमाडौंमा ४० करोड लाग्ला।’

कागजको खोस्टोमा लेखेर सुन्दर शहर नबन्ने बताउँदै उनले आफू जस्तै सुन्दर सहर बनाउने दायित्व रहेको जिम्मेवार बोध गर्न मन्त्री झाँक्रीको ध्यानाकर्षण गराइन्।

सांसद चौधरीले लिपस्टिकको प्रसंग निकालेपछि नेकपा (एस)ले नियमापत्ति गरेको छ । सांसद चौधरीको टिप्पणी मन्त्रीलक्षित नभइ व्यक्तिगत भएको भन्दै नेकपा (एस) की सांसद निरादेवी जैरुले नियमापत्ति जनाएकी थिइन्। उनले देशकै सर्वप्रतिष्ठित स्थानमा रहेर संसदको गरिमाभन्दा बाहिर गएर चौधरीले बोलेको भन्दै नियमापत्ति जनाएकी हुन्। जैरुले भनिन्, ‘मन्त्रीलाई होइन, व्यक्तिगत रुपमा टिप्पणी भएको छ। त्यो रेकर्डबाट हटाइयोस्। आगामी दिनमा व्यक्तिगत टिप्पणी नगरियोस्।’

बैठकको अध्यक्षता गरिरहेकी पुष्पा कर्ण कायस्थले ध्याानकर्षण भएको बताइन् । ‘माननीयले उठाउनु भएको विषयमा मेरो ध्यानाकर्षण भएको छ,’ सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गरेकी कर्णले भनिन् ।

संसदमा कुनै व्यक्तिको हाउभाउलाई लिएर बोल्नुलाई असंसदीय मानिन्छ ।