नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट पनि विद्युतीय राहदानी जारी

नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट पनि विद्युतीय राहदानी जारी


ग्लोब नेपाल
432
Shares

काठमाडौं । छिमेकी देश भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट पनि विद्युतीय राहदानी जारी हुन थालेको छ ।

यहि जेठ २५ गतेदेखि विद्युतीय राहदानी जारी गर्न थालेको दूतावासले विज्ञप्तिमार्फत जानाएको छ । भारतमा रहेका नेपालीले अब दिल्लीस्थित नेपाली दूतावासबाटै विद्युतीय राहदानी लिन सक्नेछन् । दूतावासका अनुसार अब विद्युतीय राहदानीका लागि पुरानो अथवा हस्तलिखित राहदानी र विदेशस्थित नेपाली नियोगबाट जारी भएको राहदानी बाहक नेपालीले नयाँ राहदानी बनाउन चाहेमा पहिले आफ्नो नागरिकताको प्रमाणपत्र र नाबालकको हकमा परिचयपत्रको प्रतिलिपिसहित दूतावासमा उपस्थित भई वा दूतावासको इमेल ठेगानामार्फत निवेदन दिनुपर्छ ।

नियोगले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्ररनाबालक परिचयपत्रको आधिकारिकता बुझेर सूचित गरेपछि मात्र विद्युतीय राहदानीका लागि प्रिइनरोलमेन्ट गर्न पर्छ । प्रिइनरोलमेन्ट फारम भरेपछि तोकिएको मिति र समयमा दूतावासमा आफैँ उपस्थित भई प्रत्यक्ष रूपमा फोटो तथा बायोमेट्रिक डाटा भर्नपर्छ ।

नयाँ विद्युतीय राहदानी बनाउँदा ५ हजार ९८० भारु शुल्क लाग्ने छ भने दश वर्षभन्दा कम उमेरका नाबालकको हकमा राहदानीको म्याद वा पाना सकिई नयाँ विद्युतीय राहदानीको आवेदन दिँदा २ हजार ९९० भारु शुल्क लाग्ने छ ।

राहदानी हराएमा वा क्षति भई नयाँ राहदानीको लागि आवेदन दिँदा भने शुल्क दोब्बर लाग्ने दूतावासले जनाएको छ । एमआरपी पासपोर्टको म्याद रहँदासम्म विद्युतीय राहदानी बनाउन आवश्यक छैन ।

विद्युतीय राहदानी जारी गर्न थालेपछि दूतावासले एमआरपी पासपोर्टको लागि आवेदन लिन बन्द गरेको छ ।