अर्थमन्त्री शर्माको राजीनामा आउने !

अर्थमन्त्री शर्माको राजीनामा आउने !


ग्लोब नेपाल
1.8k
Shares

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमाथि अनाधिकृत व्यक्तिबाट छेडछाड गराएको सार्वजनिक भएसँगै अर्थमन्त्री जनार्दन शर्मा तीव्र विवादमा तानिएका छन् ।

सोमबार (आज) अन्नपूर्ण पोस्टमा प्रकाशित समाचार गलत साबित गर्न नसकेमा उनले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने छ । आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट भाषण हुने अघिल्लो रातमा मन्त्री शर्माले एक पूर्व नासुलाई मन्त्रालयमा घुसाएर करको दर हेरफेर गराएको समाचारमा जनाइएको छ ।

बजेट निर्माणका लागि गठित टिमलाई समेत जिल्याउँदै पूर्व नासु रघुनाथ घिमिरेले निश्चित व्यापारिक घरानालाई फाइदा पुग्ने गरी बजेट चलाएको दाबी समाचारमा गरिएको छ । यति गम्भीर विषय सार्वजनिक भएको घण्टौँसम्म पनि अर्थमन्त्रीले कुनै स्पष्टीकरण दिएका छैनन् ।

स्रोतका अनुसार यति बेला अर्थमन्त्री शर्मा समाचारलाई कसरी ट्याकल गर्ने भनेर निकटस्थसँग छलफल गरिरहेका छन् । तर, सामान्य खण्डन विज्ञप्ति जारी गरेर मात्रै उनले उन्मुक्ति पाउने अवस्था भने छैन ।

यता, उनकाे पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार निजी निवास खुमलटारमा बोलाएर बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेशको विषयले पार्टीलाई अप्ठ्यारोमा पार्ने भन्दै राजीनामा दिन सुझाव दिएको स्रोतले बतायो।

बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेशबार् प्रचण्डले मन्त्री शर्मासँग प्रश्न गरेका थिए। स्रोतकाअनुसार प्रचण्डको प्रश्न थियो, सुन्नमा आएजस्तै बजेट निर्माणमा बाहिरको कुनै व्यक्तिलाई प्रवेश दिइएको हो ? जवाफमा शर्माले ठूलो गल्ती नभइ सामान्य भुलचुक भएको हुनसक्ने गोलमटोल उत्तर दिएका थिए। उक्त विषयमा गठबन्धनका नेताहरु र आफ्नै पार्टी केही नेताहरुबाट आफूले सुनेको प्रचण्डले बताएका थिए। घिमिरेलाई अर्थमन्त्री शर्माले बजेटमा संलग्न गराएको गुनासो प्रचण्डकहाँ केही दिनअघि नै पुगेको थियो।

निरन्तर विवादमा रहँदा पार्टी र आफूलाई अप्ठ्यारो पर्ने भन्दै सहज वातावरण बनाउन प्रचण्डले शर्मालाई सुझाएका थिए। अस्ति (गभर्नर वर्खास्त प्रकरणमा) पनि गठबन्धन र पार्टीकै नेताहरुले निकै दबाब दिएका थिए। फेरि उस्तै विवादित काम भयो। मैले गठबन्धनमा जवाफ दिनुपर्छ। पार्टीका नेताहरुको गुनासो पनि सम्बोधन गर्नुपर्छ। तपाईंले बाटो सहज बनाइदिनुपर्छ प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो।

अर्थमन्त्री शर्माको विषयलाई लिएर संसदमा समेत अर्थमन्त्रीको राजीनामा माग भएको छ । शर्माको पार्टी नेकपा माओवादीमा समेत यो समाचारले खल्बली पैदा भएको छ । यस्तो विवादित विषय बारम्बार आइरहेकाले पनि अर्थमन्त्री शर्माले राजीनामा दिनसक्ने आँकलन गरिएको छ ।