एक वर्षमा ५ लाख परिवारलाई लालपूर्जा वितरण गर्ने तयारी भइरहेको छ: मन्त्री श्रेष्ठ

एक वर्षमा ५ लाख परिवारलाई लालपूर्जा वितरण गर्ने तयारी भइरहेको छ: मन्त्री श्रेष्ठ


ग्लोब नेपाल
108
Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले ५ लाख परिवारलाई जग्गाधनी पुर्जा वितरण गर्नेगरी काम भइरहेको बताएकी छन् ।

प्रतिनिधिसभामा आर्थिक बर्ष २०७९/८० को सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमाथि सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले कुल करिब १४ लाख परिवार भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीमध्ये सुकुम्वासी आयोगले आगामी वर्ष ३०० स्थानीय तहका ५ लाख परिवारहरूलाई जग्गाधनी पूर्जा वितरण गर्ने र आगामी २ वर्षभित्र सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य राखी काम अगाडी बढाएको जानकारी गराएकी हुन् ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्याको दीर्घकालीन समाधानको लागि राष्ट्रिय भूमि आयोग र जिल्ला समितिहरु गठन भई कार्य प्रारम्भ भइसकेको पनि पनि मन्त्री श्रेष्ठको भनाइ छ ।

त्यस्तै गरिव घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम अन्तर्गत २६ जिल्लाका गरिब परिवार पहिचान गरी, परिचयपत्र तयार भैसकेको र वितरणका लागि पठाइएको तथा थप २३ जिल्लाको गरिब घर परिवारको प्रारम्भिक सूची तयार भई गुनासो सुनुवाई कार्य सम्पन्न भइसकेको बताइन् ।