काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मंगलबार तेस्रो खेल खेल्दैछ ।
टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपालले आज राति ओमानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुनेछ । ओमानविरुद्ध मैदान उत्रदा नेपाल सिरिजमा पहिलो जितको खोजीमा हुनेछ । नेपाल ओमानलाई हराउँदै २ अंक जोड्न चाहन्छ । यस्तै नेपाल ओमानविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ । ३५ खेल खेलेको ओमान ४४ अंकसहित शीर्ष स्थानमा छ । नेपालले १४ खेल मात्र खेलेको छ र १३ अंकसहित सात राष्ट्र सहभागी प्रतियोगिताको छैटौं स्थानमा छ ।
अमेरिका भ्रमणमा लिग २ को पहिलो खेलमा नेपाल बिहीबार ओमानसँग १३ रनले पराजित हुँदा आसिफ र कुशल दुवै चोटका कारण खेल खेलेका थिएनन् । अभ्यास खेलहरुमा यी दुई घाइते भएपछि सुवास खकुरेललाई नेपालबाट झिकाई ओमानसँगको खेलमा उनले र सुनिल धमलाले ओपनिङ ब्याटिङ गरेका थिए । दुवैले सम्झन लायक प्रदर्शन गर्न सकेका थिएनन् ।
अमेरिकासँग शनिबार दोस्रो खेलमा टिममा फर्किएर आसिफ र कुशल दुवैले ब्याटिङ गरेका थिए । आसिफले कुशलसँग मिलेर नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । यी दुईले १२ ओभरभित्र पहिलो विकेटमा ५६ रन जोडेका थिए । कुशलले ३६ बलमा १९ र आसिफले ७० बल खेली ६ चौकासहित ६१ रन बनाएका थिए ।
तर दुवै फिल्डिङका क्रममा घाइते भएका थिए । विकेट किपिङका क्रममा आसिफलाई उनको चोटग्रस्त घुँडामा बलले लागेको थियो । कुशल फिल्डिङका क्रममा घाइते भएका थिए । जसका कारण दुवैले प्रतियोगिताको थप खेल खेल्नेमा शंका गरिएको थियो । तर दुवैले सोमबार नेट्समा ब्याटिङका लागि समय बिताएका थिए । त्यसैले दुवैले ओमानविरुद्ध खेल्ने संकेत देखिएको छ ।
प्रतिक्रिया