सेयर बजारमा २९ अंकको गिरावट, दुई कम्पनीका लगानीकर्ता भने मालामाल

सेयर बजारमा २९ अंकको गिरावट, दुई कम्पनीका लगानीकर्ता भने मालामाल


ग्लोब नेपाल
27
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा बुधबार २९.८९ अंकको गिरावट भएको छ । कारोबार समय सुरु भएदेखिनै घट्न थालेको नेप्से परिसूचक डेढ घण्टामै ५० अंकले ओरालो लागेको थियो । तर, पछि केही सुधारिँदै अन्तिम समयमा २९ अंक घटेर बन्द भएको हो ।

यससँगै नेप्से परिसूचक घटेर १९ सय ६६ अंकमा आइपुगेको छ । यसैगरी, आज एक अर्ब ४९ करोड १७ लाख रुपैयाँ बराबरको ४१ लाख ८२ हजार कित्ता सेयर किनबेच भएको छ । बजार घटेको दिन आज नेप्सेमा कारोबार भएका सबै समूह उच्च अंकले घटेका छन् ।

जीवन बीमा समूहमा सबैभन्दा धेरै १८९ अंकको गिरावट आउँदा एक सय ३४ अंकले खुम्चिएको छ । यसैगरी, उत्पादनमूलक समूहमा ७७ अंकको गिरावट आएको छ भने लघुवित्त समूहमा ६६ अंकको गिरावट आएको छ । विकास बैंक समूहमा पनि ५३ अंकले घटेको छ ।

नेप्से परिसूचक दोहोरो अंकले घटे पनि सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र आँधीखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ प्रतिशतले बढेको छ । यी दुई कम्पनीका सेयर लगानीकर्ताले बाहेक अन्य कम्पनीका लगानीकर्ताले खासै आम्दानी गर्न सकेनन् ।

यसैगरी, आज नेपाल टेलिकमको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १२ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।