काठमाडौं । संघिय संसदको तल्लो सदन प्रतिनिधिसभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई छलफलका लागि बोलाएको छ ।
नेपाली सेनाले अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का लागि पत्राचार गरेको विषय सार्वजनिक भएपछि समितिले शुक्रबार बिहान ९ बजेका लागि बस्ने तय भएको बैठकमा प्रधानसेनापति शर्मालाई छलफलमा बोलाएको हो । समिति सभापति पवित्रा निरौला खरेलले एसपीपीका विषयमा विभिन्न कुरा सार्वजनिक भएपछि प्रधानसेनापति शर्मालाई स्पष्ट पार्नका लागि बोलाइएको जानकारी दिइन् ।
‘एसपीपी कार्यक्रम २०१५ देखि सुरुवात भएको कुरा सार्वजनिक भएको छ । यसको आधिकारीक कुरा के हो ? यसमा सेनाको धारणा के हो ? उनले भनिन्, ‘सन् २०१५, २०१७ र २०१९ मा एसपीपीबारे के(के भएको हो भन्ने बुझ्नका लागि बोलाएका हौं ।’
बैठकमा प्रधानसेनापति शर्मासँगै परारष्ट्रमन्त्री नारायण खड्का, परराष्ट्र सचिव भरतराज पौड्याल र रक्षा सचिव, किरणराज शर्मालाई समेत बोलाएको छ । बैठकमा नेपालको परराष्ट्र नीति, प्रधानमन्त्री शेरबहादुर देउवाको निकट भविष्यमा हुन लागेको अमेरिका भ्रमण, समितिको वार्षिक प्रतिवेदन र विविध विषयमा छलफल हुने एजेन्डा रहेका छन् ।
यो पनिः ओली प्रधानमन्त्री हुँदा एसपीपीमा संलग्न हुन नेपाली सेनाले पठाएको पत्र सार्वजनिक
प्रतिक्रिया