ईश्वर पोखरेलको प्रश्नः एसपीपीलाई सेनाले पत्र पठाउँदा सरकारलाई कहिले सोध्ने काम भयो ?

ईश्वर पोखरेलको प्रश्नः एसपीपीलाई सेनाले पत्र पठाउँदा सरकारलाई कहिले सोध्ने काम भयो ?


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा सांसद ईश्वर पोखरेलले अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) लाई पत्र लेखेको बारेमा आफूलाई जानकारी नभएको बताएका छन् ।

भूकम्पको समयमा विपद् व्यस्थापनका लागि २०७२ मा एसपीपीलाई नेपाली सेनाले पत्र लेखेको प्रधानसेनापति प्रभुराम शर्माले बताए लगत्तै शुक्रबार संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा तत्कालीन रक्षा मन्त्रीसमेत रहेका पोखरेलले सो पत्र लेखिएको बारे त्यो बेला आफूलाई जानकारी नभएको बताए ।

‘निकै ठूलो समस्या हो कि भनेर उठाउन खोजिएको विषय (एसपीपी) निराकरण हुनेतिर गयो, यो खुसीको कुरा हो, खासमा यो कुरा एक हिसाबले क्लोज नै भयो,’ तर पोखरेलले बैठकमा प्रश्न गरे, ‘एसपीपीबारे सेनाद्वारा (त्यो बेला) सरकारलाई कहिले सोधनी भयो ? त्यसबेला मन्त्रालयबाट सकारात्मक रेस्पोन्स गर्ने आधिकारिक व्यक्ति को थियो ? सेनापतिले एसपीपीलाई पत्र लेख्दा भर्खर बनेको सरकार आधिकारिक हो कि पहिलेको सरकार हो ? यसबारेमा बाहिर सत्य तथ्य ल्याउनुपर्छ ।’

केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नेपाली सेनाले एसपीपीलाई पत्र पठाएको बेला पोखरेल उपप्रधान तथा रक्षामन्त्रीको जिम्मेवारीमा थिए । सो विषयमा आफूलाई बिबादमा तान्ने प्रयास भएकोतर्फ संकेत गर्दै त्यसको पृष्ठभूमिका बारेमा सत्यतथ्य बाहिर ल्याउनुपर्ने उनको भनाइ थियो ।

उपाध्यक्ष पोखरेलले पत्र पठाउने समय नहेरी त्यसको पृष्ठभूमिमा भएका छलफल र बहसलाई पनि सँगसँगै बाहिर ल्याउनु पर्नेमा पनि जोड दिए । ‘एसपीपी कसको पालामा अगाडि बढाइएको थियो भन्ने भन्दा सुरुको कुन अवस्थामा त्यो अघि बढाइयो, त्यसको यथार्थता बाहिर ल्याउनुपर्छ,’ उनको माग छ।