विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत

विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत


ग्लोब नेपाल
108
Shares

काठमाडौं । राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधबीच राष्ट्रियसभाको आजको तेस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरे । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विनियोजन विधेयक, २०७९ का विनियोजन शीर्षकमाथि यही असार ६, ७ र ८ गते छलफल हुने तथा असार ९ र १० गते सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यतालिका प्रस्ताव गरे । सम्बन्धित शीर्षकमाथिको छलफलमा भाग लिन चाहने सांसदले छलफल हुनुभन्दा एक दिन अगावै राष्ट्रियसभाको कार्यव्यवस्थामा दलीय आधारमा नाम उपलब्ध गराउनुपर्नेछ ।

असार ६ गते कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकूद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, सहरी विकास, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र कृषि तथा पशुपक्षी मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।

असार ७ गते शिक्षा, विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, भौतिक पूर्वाधार तथा यातायात, परराष्ट्र, खानेपानी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।

यस्तै असार ८ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सञ्चार तथा सूचना प्रविधि, गृह र रक्षा मन्त्रालय, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।