बैंकबाट ऋण लिएर शेयर बजारमा लगानी नगर्नुस्: मुख्यमन्त्री शाही

बैंकबाट ऋण लिएर शेयर बजारमा लगानी नगर्नुस्: मुख्यमन्त्री शाही


ग्लोब नेपाल
81
Shares

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बैंकबाट ऋण लिएर शेयर बजारमा लगानी नगर्न आग्रह गरेका छन्।

नेपाल आर्थिक पत्रकार सङ्घ र मर्चेन्ट बैंकर्स एशोसिएसन अफ नेपालद्वारा आज सुर्खेतमा आयोजित प्रदेशस्तरीय पुँजीबजार सचेतना कार्यक्रममा उहाँले आफूसँग भएको स्रोतलाई मात्र परिचालन गर्न सुझाव दिए ।

मुख्यमन्त्री शाहीले पुँजीबजार लगानीकर्ता र बैंकर्सलाई ‘पाकेटमारा’ जस्तो व्यवहार नगर्न आग्रह गरे । “शेयर बजार कहिले बढ्छ, कहिले घट्छ, सधैँ एकनाशको हुँदैन”, उनले भने,“शेयर बजार केही व्यक्तिमा सीमित गर्नुभएन, शेयर बजारमा पनि नियामक निकाय छ भन्ने आभास दिलाउनुस् ।”

कर्णालीमा पुँजीबजार लगानीकर्ताको सङ्ख्या निकै कम रहेको भन्दै उनले विकासको गति, पुँजीबजार सचेतना, बैंकिङ सुविधा पहुँचका कारण बढ्ने विश्वास व्यक्त गरे । मुख्यमन्त्री शाहीले प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले वित्तीय अनुशासन कायम गर्ने दाबी गरे । उनले कर्णाली प्रदेश र मुलुकको आर्थिक अवस्थालाई मध्यनजर गरी सात प्रदेशमा सबैभन्दा कम आकारको बजेट आफूले ल्याएको बताए ।

बजेटमा यसअघि महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएका त्रुटि सच्याएको तथा मुख्यमन्त्री कार्यालयको बजेट घटाएर सम्बन्धित विभागीय मन्त्रालयमा पठाएर वित्तीय अनुशासन कायम गरेको उनको भनाइ थियो । “चुनाव लक्षित, वितरणमुखी बजेट ल्याउन सकिन्थ्यो”, उनले भने, “विगतका कमजोरी सच्याइएको छ, बहुवर्षीय योजना र क्रमागत योजनालाई पूरा गर्न बजेट केन्द्रित गरिएको छ ।”