सेयर बजार निरन्तर ओरालोतर्फ, सूचक १९३४ अंकमा झर्यो 

सेयर बजार निरन्तर ओरालोतर्फ, सूचक १९३४ अंकमा झर्यो 


ग्लोब नेपाल
54
Shares

काठमाडौं । सेयर बजारमा साताको पहिलो कारोबार दिन आइतबार बजार सूचक नेप्से ओरालो लागेको छ । गत साताभरमा निरन्तर ओरालो लाग्दै आएको बजार सूचकको गिरावटको क्रम आइतबार पनि नरोकिएन । 

आइतबार नेप्से १.८९ प्रतिशत अर्थात ३७.२७ अंकले घटेर १९३४ दशमलव ११ अंकमा आइपुगेको छ । गत साता नेप्से ७७ अंक घटेर १९७१ दशमलव ३८ अंकमा ओर्लिएको थियो । ठूला कम्पनीहरूको मापक परिसूचक (सेन्सेटिभ इन्डेक्स) ७.२९ अंक अर्थात १ दशमलव ९१ प्रतिशतले घटेर ३७३ दशमलव ८५ अंकमा ओर्लिएको छ ।

आज २३३ कम्पनीको ३६ लाख ६६ हजार ८९१ कित्ता सेयर किनबेच भएको छ । २७ हजार ६ वटा संख्यामा १ अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको हो ।

कारोबारमा आएका सबै उपसमूहगत सूचक राताम्मे बनेको छ । विकास बैंक, फाइनान्स, अन्य, म्युचुअल फण्ड र जलविद्युतको सूचक ३ प्रतिशतभन्दा बढीले घटेको छ ।

घटेको बजारमा नेपाल टेलिकमको उच्च कारोबार भएको छ । टेलिकमको १० करोड २९ लाख ८९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसैगरी एनसीसी बैंकको ५ करोड ६८ लाख, सेञ्चुरी कमर्सियल बैंक ४ करोड ८२ लाख, नबिल बैंक ४ करोड ७ लाख र एनआईसी एशिया बैंकको ३ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आजको बजारमा आधिँखोला जलविद्युतको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । प्रभु लाइफ इन्स्योरेन्स र सिवाईसी नेपाल लघुवित्तको सेयरमूल्य ४ प्रतिशतभन्दा बढीले बढेको छ ।

आइतबारको बजारमा रिभर फल्स पावरको सेयरमूल्य सर्वाधिक ९.५६ प्रतिशतले घटेर २४६.९० रुपैयाँमा झरेको छ । बलेफी हाइड्रोपावर ८.१९ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंक ७.६८ प्रतिशत, माउन्टेन हाइड्रोपावर नेपाल लिमिटेड ७.३३ प्रतिशत, हिमाल दोलखा हाइड्रोपावरको सेयरमूल्य र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ७.११ प्रतिशतका दरले ओरालो लागेको छ ।