अमेरिका भ्रमणको औपचारिक मिति तय भएपछि जानकारी गराउछु: प्रधानमन्त्री

अमेरिका भ्रमणको औपचारिक मिति तय भएपछि जानकारी गराउछु: प्रधानमन्त्री


ग्लोब नेपाल
54
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने भनिएको आफ्नो संयुक्त राज्य अमेरिकाको भ्रमण औपचारिकरूपमा मिति तय भएपछि संसद्लाई जानकारी गराउने बताएका छन् ।

आज नेपाली कांग्रेस सचेतक पुष्पा भुसालसँगको भेटमा प्रधानमन्त्री देउवाले भ्रमणको मिति तय भएपछि सदन वा संसदीय समितिमा आएर औपचारिकरूपमा जानकारी गराउने इच्छा व्यक्त गरेका हुन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भ्रमणका सम्बन्धमा जानकारी लिन प्रधानमन्त्री देउवालाई समिति बैठकमा बोलाएको सन्दर्भमा समिति सदस्यसमेत रहेकी सचेतक भुसालले आज प्रधानमन्त्री देउवासँग भेट गरेकी हुन् ।

समितिको यसअघिको बैठकमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्रीको अमेरिका भ्रमणका सम्बन्धमा प्रारम्भिक छलफल भएको तर अन्तिम टुङ्गो लागिनसकेको स्पष्ट पारेका थिए । समितिले नेपालको परराष्ट्र नीति कार्यान्वयन र प्रधानमन्त्रीको भ्रमणका सम्बन्धमा छलफल गर्न आज बैठक बोलाएको थियो ।

प्रधानमन्त्री देउवा आफ्नो कार्यव्यस्तताका कारण बैठकमा उपस्थित हुन नसकेको बुझिएको छ ।

बैठकले प्रधानमन्त्रीको भ्रमणको कार्यसूचीबारे छलफल र जानकारीका लागि प्रधानमन्त्री/रक्षामन्त्रीलाई आगामी बैठकमा पुनःआमन्त्रण गर्ने निर्णय गरेको समिति सभापति पवित्रा निरौला (खरेल)ले जानकारी दिइन् ।