काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद लालबाबु पण्डितले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने सांसदहरु कहाँ हराए भन्दै प्रश्न गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पण्डितले महाभियोग लगाउने सांसद हराएका छन् कि संसद्मै छन् भनेर प्रश्न गरेका हुन् । पण्डितको प्रश्न छ, ‘महाअभियोग प्रस्ताव ल्याउनेहरु कहाँ हराए ? त्यो महाअभियोग प्रमुख प्रतिपक्षीसँग छलफल नगरी ल्याइएको र पास हुन सक्दैन भनेर प्रस्तावकहरु नै हराइसक्नुभएको हो कि ?’
बैठकमा पण्डितले महाभियोग कहिले अगाडि बढ्छ भनेर सभामुखलाई पनि प्रश्न गरेका छन् । ‘महाभियोग दर्ता भएको छ । छानबिन समिति गठन भएको छ तर समितिले कहिले काम पाउने हो ? महाभियोग प्रमुख प्रतिपक्षसँग छलफल नगरी ल्याएको र पास हुन सक्दैन भनेर महाभियोग प्रस्तावका प्रस्तावकहरू नै हराइसक्नुभएको हो कि ? उनले प्रश्न गरेका छन्, उहाँहरू यो प्रस्तावमाथि छानबिन गर्नको निम्ती तयार हुनुहुन्न, के भएको हो ?
आफु ११ सदस्यीय महाअभियोग सिफारिस समितिको सदस्य समेत भएको उल्लेख गर्दै सांसद पण्डितले थपे, ‘जिम्मेवारी नपाएकोले गर्दा जिम्मवारी बिहीन समितिको औचिय के हो ? उनले सर्वोच्च अदालतलगायत संवैधानिक संस्थाहरूमाथि महाभियोगको नकरात्मक प्रभाव पर्ने बताए ।
‘यसमा सम्माननीय सभामुखको जिम्मेवारी र दायित्व हुन्छ कि हुँदैन ? हुन्छ भने सभामुखले कहिलेबाट हामीलाई विषयवस्तु पठाउनुहुन्छ ? कहिले हामीले काम गर्न पाउने ? देश र जनताले उठेका प्रश्नको जवाफ पाउने ?’, उनले भने, ‘त्यसबारेमा समिति सदस्यको रूपमा म सभामुखको विचार जानकारी चाहन्छु । म आफू त्यो समितिको सदस्यको भएकोले गर्दा जानकारी चाहन्छु ‘
महाभियोग छानबिन समितिमा जबराविरुद्धको महाभियोग नपठाउने हो भने समितिको औचित्य के हो भनेर पण्डितले प्रश्न गरेका छन् । समितिलाई जिम्मेवारीविहीन बनाउन नहुने उनको भनाइ थियो ।
प्रधानन्यायाधीश जबरामाथि गत फागुन १ गते कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले महाभियोग प्रस्ताव दर्ता गराएका थिए । त्यसपछि महाभियोग सिफारिस समिति पनि गठन भएको थियो तर अगाडि बढ्न सकेको छैन । जबरा निलम्बनमा छन् भने महाभियोग सिफारिस समिति कामविहीन छ ।


प्रतिक्रिया