पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यता हो, अझै पनि घाटामा छौं: मन्त्री बडू

पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यता हो, अझै पनि घाटामा छौं: मन्त्री बडू


ग्लोब नेपाल
54
Shares

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यात्मक भएको बताएका छन्।

सोमबार सि‌हदबारमा प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री बडूले अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य बढेकाले नेपालमा पनि बढाउनुपर्ने बाध्यता रहेको स्पष्टीकरण दिए ।

बडूले पेट्रोलियम पदार्थमा लगाइएको कर १० रुपैयाँ घटाइएको र त्योभन्दा बढी घटाउन नसक्ने बताएका हुन्। उनले पेट्रोलियम पदार्थ खरीदभन्दा बिक्रि मूल्य कम हुँदा अझै पनि घाटा नै रहेको बताए। ‘पेट्रोलियम पदार्थ हाम्रो उत्पादन होइन । बाहिरको बजारमा जे रेट छ त्यसैमा किनेर ल्याउने हो । किनेर ल्याएका रेटमा बेच्न सक्दैनौं । अझै पनि पेट्रोलमा ३१ रुपैयाँ घाटा भइरहेको अवस्था हो’, मन्त्री बडुले भने, ‘अहिले प्रत्येक महिना ९ अर्ब ६३ करोड रुपैयाँ घाटा रहेको छ । पेट्रोलियम पदार्थ खरिद गरे बापत भारतलाई २२ अर्ब रुपैया तिर्नुपर्ने अवस्था छ । यो महिनाभित्र तिर्नुपर्छ । सरकार मूल्यवृद्धि गर्नुपर्ने बाध्यात्मक अवस्थामा छ ।’

जनतालाई थप मारमा नपार्नका लागि ग्यासमा मूल्यवृद्धि गर्न नदिएको उनले बताए। उद्योगलाई सहज सञ्चालनका लागि सरकारले आवश्यक सहजीकरण गर्ने बताए। उनले बन्द भएका उद्योगहरुलाई सञ्चालनका लागि निजी क्षेत्रको सहयोग लिइने बताए।