अब खाना पकाउने ग्यासमा छिट्टै दुई थरी मूल्य !

अब खाना पकाउने ग्यासमा छिट्टै दुई थरी मूल्य !


ग्लोब नेपाल
81
Shares

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले अब छिट्टै खाना पकाउने ग्यासमा दुईथरि मूल्य तोक्ने बताएका छन् ।

सोमबार इन्धनमा भएको मूल्यवृद्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले ग्यासमा घरायसी र औद्योगिक प्रयोजनका लागि अलग अलग मूल्य तोक्ने बताए । त्यसका लागि ग्यासको गन्ध र सिलिन्डरको रङ्ग पनि फेरिने उनले जानकारी दिए । ‘हिजो रातो र नीलो सिलिण्डरको मात्रै कुरा गरियो अब रङको मात्रै होइन, साइजको कुरा ५ देखि ४ सय केजीसम्म ग्यासका सिलिण्डर आउने गर्छ’ उनले पत्रकार सम्मेलनमा भने ‘गन्ध, रङ्ग र साइजका आधारमा चाँडै ग्यासको दोहोरो मूल्यमा जान्छौं । ’

दोहोरो मूल्यबारे अध्ययन गर्न गुणस्तर तथा नापतौलका महानिर्देशक नेतृत्वको टोलीले काम गरिरहेको पनि उनले जानकारी दिए । हाललाई ग्यासमा मूल्य बढाउने तयारी नरहेको पनि उनले बताए । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य बढेपनि निगमले बढाएको छैन । हाल निगमलाई ग्यासमा प्रतिसिलिण्डर ७५१ रुपैयाँ नोक्सानी रहेको उनले बताए ।

बढेको मूल्यका कारण १५ दिनमा २ अर्ब ३५ करोड रुपैयाँ घाटा रहेको थानीको भनाइ थियो । थानीले समायोजन गरिएको मूल्य पूर्वाधार कर घटाएर नै गरिएको दाबी गरे ।