मन्त्री झाँक्रीले ‘फेक’ सूचनासहितको फोटो सेयर गर्दै प्रदीप ज्ञवालीमाथि प्रश्न उठाएपछि…

मन्त्री झाँक्रीले ‘फेक’ सूचनासहितको फोटो सेयर गर्दै प्रदीप ज्ञवालीमाथि प्रश्न उठाएपछि…


ग्लोब नेपाल
1.1k
Shares

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गलत तथ्यसहितको सूचना दिइएको एक फोटोको सहारा लिँदै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीमाथि प्रश्न उठाएकी छन्।

ज्ञवाली परराष्ट्रमन्त्री हुँदा अमेरिका भ्रमणमा गएका थिए। त्यसक्रममा उनले वासिङ्टनस्थित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को मुख्यालय भ्रमणका क्रममा त्यो फोटो खिचाएका थिए। तर उक्त फोटोलाई तोडमोड गरेर अहिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) ले नेपाली राजनीतिक वृत्त तातेका बेला सामाजिक सञ्जालमा भाइरल बनाइएको छ ।

अमेरिकास्थित नेपाली दूतावासले ज्ञवाली एमसीसी मुख्यालय पुगेका बेला उक्त फोटो सामाजिक सञ्जालमा सेयर गरेको थियो। ज्ञवाली र एमसीसीका तत्कालीन सीईओ जोनाथन नासबीच सन् २०१८ डिसेम्बर १९ मा भएको भेटको फोटो अहिले तोडमोड गरेर भाइरल बनाइएको छ।

ओरिजिनल फोटोमा दुईजनाले एमसीसीको लोगो अगाडि हात मिलाएको देख्न सकिन्छ। जहाँ कुनै पनि अंग्रेजी अक्षरहरू छैनन्।

तर मन्त्री झाँक्रीले सामाजिक सञ्जालका प्रयोगकर्ताले तोडमोड गरेको उक्त फोटोको सहारा लिँदै कुनै बेला सहयात्रीमाथि प्रश्न उठाएकी हुन्। झाँक्रीले सामाजिक सञ्जालमा पोस्ट गरेको उक्त फोटोको माथिल्लो भागमा एसपीपी र आईएसपी लेखिएको छ।

झाँक्रीले फोटोसहित आफ्नो विचार राख्ने क्रममा आईपीएस लेख्नुपर्नेमा आईएसपी नै लेखेर सामाजिक सञ्जालमा सेयर गरेकी छन्। ‘माननीय प्रदीप ज्ञवालीले एक दिन संसदमा जोडतोडले एसपीपी के हो ? आईएसपी भनेको के हो ? सरकारले जानकारी दिनुपर्छ भन्दै हुनुहुन्थ्यो’, उनले भनेकी छन्, ‘के रहेछ त उहाँलाई नै थाहा रहेछ।’

गलत सूचना दिएर भ्रम फैल्याएको भन्दै आलोचना भएपछि मन्त्री झाँक्रीले उक्त ट्विट डिलिट गरेकी छन्।