काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेक सम्बन्धमा नेपालले कार्ड खेल्न नहुने बताएका छन् ।
मंगलबार काठमाडौंमा पूर्वराजदूतहरूको समूहले नेपालको परराष्ट्रमामिलाबारे गरेको अन्तरक्रियामा ओलीले छिमेक सम्बन्धनमा कार्ड खेल्दा नेपाल फस्ने बताए । राष्ट्रिय हितलाई ध्यानमा राखेर न्यायोचित राष्ट्रिय हितको कुरा गनुपर्ने उनले बताए । ‘हाम्रा छिमेकीसँग भरपर्दो र विश्वसनीय नीति र व्यवहार गर्नुपर्छ । हामी कार्ड खेल्न सक्दैनौँ, छिमेक सम्बन्धको प्रसंगमा कुनै कार्ड खेल्न सक्दैनौँ, हामीले खेल्नु पनि हुँदैन,’ ओलीले भने, ‘कुनै छिमेकीका विरुद्ध कसैसँग भित्री साठगाँठ गर्ने तथा योजना बनाउने र बाहिर अर्को कुरा गरेमा हामी फस्छौँ ।’
पूर्वप्रधानमन्त्री ओलीले छिमेक सम्बन्ध सुमधुर र सुदृढ राख्नुपर्ने बताए । ‘पृथ्वीनारायण शाहले फरक प्रसंगले भने पनि नेपाल विशाल दुई ढुंगाका बीच तरुल जस्तै हो । त्यो बेला संयुक्त राष्ट्र संघ थिएन । भूगोल उस्तै हो, हामी त्यस्तै छौँ,’ औलीले भने ।
छिमेकी देशसँग रहेका मतभेदहरू कुराकानीबाट सुल्झाउनुपर्ने पनि ओलीले बताए । कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतका सीमा विवादसम्बन्धी समस्या खुलस्त छलफलबाटै समाधान गरिनुपर्ने पनि उनले बताए ।


प्रतिक्रिया