सवारी चालक लाइसेन्समा गडबडी गर्ने ५ जना विचौलियासहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सवारी चालक लाइसेन्समा गडबडी गर्ने ५ जना विचौलियासहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


ग्लोब नेपाल
0
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मा गडबडी गरेको आरोपमा १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मंगलबार एक प्रेस विज्ञप्ति निकाल्दै अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र एकान्तकुना ललितपुरका तत्कालीन कार्यालय प्रमुखहरू सम्बरबहादुर कार्की र राजुभाई कुस्मा, मेकानिकल इन्जिनीयर विजयराज गिरी समेत १२ जना कर्मचारी र ५ जना बिचौलिया गरी १७ जनाउपर गैरकानूनी रूपमा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको जनाएका छन् ।

यातायातका कर्मचारीहरू तथा सिन्धुली फोटोकपी सेन्टरका सञ्चालक बाबुराम शर्मा समेतले सेटिङमा बिचौलियामार्फत सवारीचालक अनुमति पत्र जारी गर्ने गरेको भन्ने समेत व्यहोराको सञ्चारमाध्यममा प्रकाशित समाचारमा आधारित उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा यातायातका तत्कालीन कार्यालय प्रमुखहरू सम्बर बहादुर कार्की र राजुभाई कुस्माले सवारी चालक अनुमति पत्रको नवीकरण गर्ने सम्बन्धमा गलत नियतले मातहतका कर्मचारीहरूलाई अख्तियारी प्रदान गरेको र मेकानिकल इन्जिनीयर विजयराज गिरी, सहायक स्तर (पाचौं) कमल स्याङतान, सिनियर मेकानिक्स अच्युत प्रसाद फुयाल, कम्प्युटर अपरेटर (करार सेवा) प्रकाश कार्की, कम्प्युटर अपरेटर (करार सेवा) रेजु भट्टराई, कम्प्युटर अपरेटर (करार सेवा) रोसन राजभण्डारी, कम्प्युटर अपरेटर (करार सेवा) श्याम सुन्दर चौधरी, कम्प्युटर अपरेटर (करार सेवा) लक्ष्मी श्रेष्ठ, कम्प्युटर अपरेटर (करार सेवा) माया सेठी, कम्प्युटर अपरेटर (करार सेवा) रिचा श्रेष्ठ समेतले सवारी चालक अनुमति पत्रको नवीकरण गर्ने सम्बन्धमा आफ्नो जिम्मेवारी अन्तर्गतको कार्य सम्पादन गर्न प्राप्त गरेको अख्तियारीको दुरुपयोग गरी आव २०७७/७८ र आव २०७८/०७९ को श्रावण र भाद्र महिना गरी १४ महिनाको अवधिमा बिचौलियाहरू हरिभक्त श्रेष्ठ, बाबुराम शर्मा भन्ने उद्धबबहादुर खत्री, दिपक विश्वकर्मा, गणेश अधिकारी र नरेन शाक्य समेतको मिलेमतोमा विविध कारणले नवीकरण नभएका तथा स्वतः रद्द भएका सवारी चालकको नाममा जारी भएको सवारी चालक अनुमति पत्र गैरकानूनी रूपमा नवीकरणको बाटोबाट ५३३ जना नयाँ व्यक्तिको नाममा जारी गरेर सरकारी कागजात सच्याई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ११ बमोजिमको कसूर गरेको विज्ञप्तिमा उल्लेख छ ।