अष्ट्रेलियामाथि श्रीलंकाको रोमाञ्चक जीत

अष्ट्रेलियामाथि श्रीलंकाको रोमाञ्चक जीत


ग्लोब नेपाल
189
Shares

श्रीलंकाले अष्ट्रेलियामाथि रोमाञ्चक जीत हात पारेको छ । श्रीलंकाले चौथो ओडिआइ खेलमा अष्ट्रेलियामाथि चार रनको रोमाञ्चक जीत निकाल्दै एक खेल अगावै श्रृंखला आफ्नो हात पारेको हो ।

यो जीतसँगै पाँच ओडिआइ खेलमा श्रीलंकाले ३-१ को अग्रता कायम राख्दै श्रृंखला आफ्नो पक्षमा पारेको छ । श्रीलंकाको प्रेमादासा इन्टरनेशनल क्रिकेट स्टेडियममा गएराती सम्पन्न खेलमा टस जितेर ब्याटिङको निम्तो पाएको घरेलु टोली श्रीलंकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २५८ रन बनाएको थियो ।

श्रीलंकाका लागि चारित असालांकाले १०६ बलमा ११० रनको शतकीय पारी खेल्दै श्रीलंकाको रनरेट उच्च बनाएका थिए । त्यसैगरी अर्का अलराउण्डर धनञ्जय डी सिल्भाले ६० रनको अर्धशतकीय पारी सम्हालेका थिए ।

२ सय ५९ रनको प्रतिस्पर्धात्मक विजय लक्ष्य बोकेर ब्याटिङमा उत्रिएको अष्ट्रेलिया निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ५४ रनमा समेटिएपछि श्रीलंकाले चार रनले यो जीत हात पारेको हो । अष्ट्रेलियाका लागि डेभिड वार्नरले ११२ बलमा सर्वाधिक ९९ रनको पारी खेलेका थिए । श्रीलंका तथा अष्ट्रेलियाबीचको पाँचौ तथा अन्तिम ओडिआइ खेल आउँदो शुक्रबार खेलिने तालिका रहेको छ ।