प्रचण्डको दाबी: जनताले देशको चाबी माओवादीलाई दिएका छन्

प्रचण्डको दाबी: जनताले देशको चाबी माओवादीलाई दिएका छन्


ग्लोब नेपाल
189
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीतिक धारालाई कसरी अघि बढाउने भन्नेबारेक नेपाली जनताले आफ्नो पार्टीलाई चाबी दिएको दाबी गरेका छन् ।

बिहीबार ललितपुरमा आयोजित जनप्रतिनिधि सम्मान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले स्थानीय तह चुनावमा आफूहरूले अपेक्षा गरेभन्दा कम सिट जिते पनि तेस्रो निर्णायक शक्तिका रूपमा रहेको भन्दै देशको नेतृत्वको जिम्मा आफ्नो पार्टीले पाएको जिकिर गरे ।

‘परिणामको दृष्टिकोणले राजनीतिको बागडोरलाई कतापट्टि लैजाने राजनीतिक धारालाई कसरी अगाडि बढाउने भन्ने जिम्मेवारी हामीलाई जनताले दिएका छन्,’ अध्यक्ष प्रचण्डले भने, ‘कहीँ न कहीँ यसको चाबी जनताले माओवादी केन्द्रलाई नै दिएका छन् ।’

सिटमा केही तलमाथि भए पनि निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु नै आफूहरूको ठूलो सफलता भएको बताए । उत्पीडित वर्गको हकहित संरक्षण र संविधान जोगाउनका लागि पनि निर्वाचन सफलतापूर्वक हुनु आवश्यक रहेको उनको भनाइ थियो ।

आफूहरूले आकलन गरेको भन्दा कम सिट जिते पनि अरूले भने माओवादी यति सिट जित्छ भन्ने अनुमान नगरेको उनको भनाइ छ ।

उनले एमाले, जसपा वा एकीकृत समाजवादी जसले जिते पनि माओवादीले नै जितेको जस्तो लागेको बताए । ‘हामीले यहाँ कति जित्यौं भनेर हेर्दा एउटा चित्र देखिएला तर समग्रमा हामीले नै जितेको हो। कांग्रेस, एमाले, जसपा, समाजवादी जसले जितेपनि माओवादी केन्द्रले नै जितेको देख्छु।’