नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा क्याप्टेन दिपुराज ज्वारचन नियुक्त

नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा क्याप्टेन दिपुराज ज्वारचन नियुक्त


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । सरकारले नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचनलाई निगमको महाप्रबन्धकमा अस्थायी नियुक्ति दिएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेपछि रिक्त रहेको निगमको नेतृत्व सम्हाल्न निगमकै न्यारोबडी विमानका प्रशिक्षक पाइलटसमेत रहेका ज्वारचनलाई अर्को व्यवस्था नभएसम्मका लागि अस्थायी नियुक्ति दिइएको हो ।

‘मन्त्रिपरिषद्‍को निर्णयअनुसार नेपाल वायुसेवा निगम ऐन २०१९ को दफा १ बमोजिम निगमको महाप्रबन्धकको कामकाज गर्ने गरी अस्थायी नियुक्ति गरिएको छ,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा जारी पत्रमा भनिएको छ ।

यसअघि निगमको अप्रेसन निर्देशक रहेका ज्वारचनले बरिष्ठ क्याप्टेनको हैसियतमा न्यूनतम उडान गर्नेगरी जिम्मेवारी पाएका हुन् । सरकारले निगमका प्रबन्ध निर्देशक डिमप्रसाद पौडेललाई हटाइसकेको छ भने कार्यकारी अध्यक्ष अधिकारीमाथि छानबिन समिति बनेसँगै निलम्बनमा परेका छन् ।

पछिल्लो समय प्रशिक्षक पाइलटको जिम्मेवारीमा रहेका ज्वारचन करिब १३ वर्ष निगमको व्यवस्थापकीय जिम्मेवारीमा समेत रहेकाले उनले निगमको अस्तव्यस्त अवस्थामा सुधार ल्याउने अपेक्षा कर्मचारीले गरेका छन् । १५ वर्षअघि निगमको टुइनअटर विमानका लागि कोपाइलटका रुपमा प्रवेश गरेका ज्वारचन ०७६ असारदेखि ०७८ फागुनसम्म निगमको पाइलट तथा क्याबिन क्रू विभागका निर्देशक थिए ।

कोभिड महामारीको बेला अत्यवाश्यक स्वास्थ्य सामग्री ढुवानी गर्ने सन्दर्भमा ज्वारचन अग्रपंक्तिमा थिए ।