समृद्ध सिद्धिचरणको दिगो योजनाकालागि ८१ करोड ६ लाख बढिको बजेट प्रस्तुत

समृद्ध सिद्धिचरणको दिगो योजनाकालागि ८१ करोड ६ लाख बढिको बजेट प्रस्तुत


ग्लोब नेपाल
567
Shares

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/८० का लागि ८१ करोड ६ लाख बढिको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको दशौँ नगरसभाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो । नगरसभा मार्फत नगरप्रमुख तेजन खनाल (तेजेन्द्र)ले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । ‘हामी सबैको चाहाना, समृद्ध सिद्धिचरणको लागि दिगो योजना’ भन्ने नाराका साथ तयार पारिएको नीति तथा कार्यक्रम उनले प्रस्तुत गरेका हुन् ।

नगरले आगामी आर्थिक बर्षमा शिक्षा, स्वास्थ्य, खानेपानी, सामाजिक विकास, कृषि, सुशासन र समानतालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएका छन् । नगरक्षेत्रका नागरिकको मानवीय आवश्यक्तालाई परिपुर्ति पर्ने कार्यक्रमलाई नीति तथा कार्यक्रममा जोड दिइएको नगरप्रमुख खनाल जानकारी दिए ।

नगरसभा मार्फत नगरपालिकाका उपप्रमुख तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक केदारबाबु बस्नेतले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरेका थिए । नगरपालिकाले कुल ८१ करोड ६ लाख २३ हजार ८ सय ६० रुपैयाको बजेट प्रस्ताव गरेको छ । जसअनुसार सबैभन्दा धेरै सामाजिक विकासको क्षेत्रमा ५५.९२ प्रतिशत अर्थात् ४५ करोड ३३ लाख ७६ हजार १ सय २० रुपैया विनियोजन गरेको छ ।

यस्तै सुशासन तथा संस्थागत विकास तर्फ १६.५४ प्रतिशत अर्थात् १३ करोड ४० लाख ८१ हजार ८ सय ६०, आर्थिक विकासमा १०.९२ अर्थात् ११ करोड २८ लाख, पुर्वाधार विकास तर्फ १३.१६ प्रतिशत अर्थात् १० करोड ६६ लाख १८ हजार ८ सय ८० र वन, वातावारण तथा विपद् व्यवस्थापनमा ०.४६ प्रतिशत अर्थात ३७ लाख ५० हजार विनियोजन गरेको नगर उपप्रमुख बस्नेतले बताए ।

नगरपालिकाले अघिल्ला आर्थिक बर्ष भन्दा यो आवमा ७.७८ प्रतिशत वृद्धि भएको उनले बताएका छन् । प्रस्तावित बजेट माथिको छलफलको लागि शनिबार ११ बजे फेरि नगरसभाको बैठक बस्ने नगरपालिकाले जनाएको छ ।