राज्यमन्त्री विमला वलीलाई कारबाही गर्न ‘प्रेमी’ बस्नेतको माग

राज्यमन्त्री विमला वलीलाई कारबाही गर्न ‘प्रेमी’ बस्नेतको माग


ग्लोब नेपाल
351
Shares

काठमाडौं । लुम्बिनी प्रदेशका विवादित स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले आफ्नो परिवारमा उडण्ड मच्चाएको बताउँदै उनका ‘प्रेमी’ भनिने एकराज बस्नेतले कारबाही माग गरेका छन् । जेठ ३१ गते आफू घरमा नभएको समयमा सुरक्षाकर्मीसहित पुगेर श्रीमती र छोरीलाई पिटेको, घरमा तोडफोड गरेको भन्दै वलीलाई कारबाही हुनुपर्ने माग गरेका हुन् ।

लुम्बिनी प्रदेश सरकारले गठन गरेको छानविन समितिसमक्ष उनले यस्तो बताएका हुन् । बस्नेतको श्रीमतीले वलीले घरमा पुगेर ‘मेरो पोइ खोइ ?’ भन्दै कुटपिट गरेको, तोडफोड गरेको, छोरीलाई कुटपिट गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छन् ।

छानविन समिति समक्ष बस्नेतले वलीलाई केही रकम दिनुपर्ने भएको पनि बताएका छन् । वली र बस्नेतका बीचमा आर्थिक लेनदेनको कारोबार पनि रहेको खुलेको समितिका एक सदस्यले बताए ।

जेठ ३१ गते बिहान राज्यमन्त्री वली तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ आलुमण्डीस्थित एकराज बस्नेतको घरमा गई वलीले एकराजकी श्रीमती मिना र साढे ३ वर्षकी छोरीमाथि कुटपिट गरेकी थिइन् । घटना भएको दोस्रो दिन प्रदेश सरकारको असार १ गते बसेको मन्त्रिपरिषद् बैठकले राज्यमन्त्री वली घटनाबारे सत्यतथ्य छानबिन गर्न कार्यदल गठन गरेको थियो ।

त्यही छानबिन समितिलाई दिएको बयानमा वाइसियलका नेतासमेत रहेका बस्नेतले आर्थिक लेनदेनको कारोबार वलीसँग भएको स्वीकार गर्दै कारोबार आफूको भएकोले छोराछोरी र श्रीमतीसँग गरिएको दुर्व्यवहार र कुटपिटको सजाय उनले पाउनुपर्ने बताएका छन् ।