सिस्टर लता लामिछाने

सिस्टर लता लामिछाने



यो कथा केही सत्य हो र केही काल्पनिक पनि हो । जस्तो कि कथाकी पात्राको नाम नै काल्पनिक हो तर कतिपय घटना भने सत्य घटनामा आधारित छन् । सामान्यतः यसो भन्ने गरिन्छ ।

आजभन्दा ठिक ४० वर्ष अघिको सम्झना हो जुनबेलामा विरामीहरुको सिधै पहुँच हुन्थ्यो अस्पतालमा र विरामीहरुलाई विना पक्षपात भर्ना गरिन्थ्यो । तर डाक्टरसँगको चिनापर्चीले यसै पनि काम गथ्र्यो नै । त्यो बेलामा पनि लाग्थ्यो स्वास्थ्यको खर्च महङ्गो नै छ तर अहिलेजस्तो बेथितीको थिएन भन्ने गर्छन् भुक्तभोगीहरु । तर स्वास्थ्यको अवस्था अहिलेभन्दा सरल थियो जस्तो लाग्छ ।
मैले सम्झना गर्न लागेको सिस्टर लताका वारेमा हो । सिस्टर लता लामिछाने । यो नाम कतै मिलेमा संयोगमात्र मान्नुहोला । तर मैले सम्झेसम्म उनको नाम सिस्टर लता नै थियो । अहिले ती सिस्टर पनि आफ्नो औपचारिक पेसाबाट निवृत्त भइहोलिन् पक्कै तर मलाई अहिले पनि उनको त्यही अनुहार, त्यही उमेर नै झल्झली यादमा आउँछ ।

उनी महिलाको शल्य चिकित्सा सेवा कक्ष अर्थात् फिमेल सर्जिकल वार्ड कोठामा थिइन् र महिलाहरुका कुरुवा पुरुष पनि हुन्थे धेरैजसो । मुस्किल के पनि पर्ने रहेछ भने एउटी विरामीको लुगा परिवर्तन गर्नुपर्दा, उनलाई यदि बेडमा नै शौच गराउनु पर्दा पुरुषहरुलाई बारम्बार बाहिर जानका लागि भन्नै पर्ने । धेरै सिस्टरहरु झर्को फर्को गरेर कराउँथे र भन्थे—कस्ता लोग्नेमान्छे हुन् भनेको, अर्की स्वास्नीमान्छेका लुगा फेर्ने बेला भएको छ, दिसा पिसाब गराउने बेला भएको छ, थाहा नपाएजस्तो गरेर बस्छन् बा । तर सिस्टर लताले भने त्यो समस्याको समाधान बडो कूटनीतिक पाराले गर्थिन् र भन्थिन्—कृपया एकछिनलाई यसो बाहिर गइदिनुहोस् न है । अनि तपाईँको बिरामीलाई कुनै समस्या आइहाल्यो भने मै सेवा गर्दिन्छु नि , हुन्न र ? किनभने बाहिर जान नमान्ने कारण हुन्थ्यो बिरामीको हेरचाह गर्नुपर्ने अनि कुनै काममा बाहिर गएको रहेछ कुरुवा भने पनि ऊ आउने बेलासम्ममा कराउँदै , फत्फताउँदै बस्थे अरु सिस्टरहरु तर हामी कुरुवाका लागि भने लता सिस्टर सधैँ बसिरहून् आफ्नो ड्युटीमा भन्ने लाग्थ्यो । अरु त अरु हामी नभएको बेलामा डाक्टर आएर राउन्डमा कुनै ओखती लेखेका रहेछन् भने पनि उनले या त सञ्चित ओखतीबाट दिन्थिन् या बाहिरबाट किन्न लगाएर बिलसमेत राखिदिन्थिन् बेडमा , जुन हामी पछि आएपछि भुक्तानी गथ्यौँ । उनी हुनु भनेको त्यो फिमेल सर्जिकल वार्डमा सबै विरामीको अनुहार हँसिलो र हामी कुरुवाहरुका लागि काम छ भने बाहिर जानका लागि छुट थियो किनभने हामी सबैको काम उनी एक्लै भ्याउँथिन् ।

डाक्टरहरु पनि उनको सेवाबाट अत्यन्त खुसी थिए । हाम्रा बिरामीहरु पनि उनको अनुहार देखेपछि खुसी हुन्थे र हामी कुरुवाहरुले पनि कम्तीमा पनि गाली खानु पर्दैन थियो किनभने उनले सम्झाउँदा कोही पनि निहुँ खोजर वार्डमा बस्दैन थियो । कसैलाई अपरेसनका लागि तयारी गर्नु छ भने उनले सबै कुरा सम्झाएर भन्थिन् र ओखतीहरुको व्यवस्था गर्नका लागि अस्पतालको सेवागृहबाट आवश्यक सामग्री लिएर आउँथिन् र भन्थिन्—कसैले सोधे भने भन्नु है , किनेर ल्याएको । उनलाई थाहा थियो अस्पतालमा किन हो भएको ओखतीको प्रयोग गर्दैनन् र सरकारी अस्पतालका लागि आएको करोडौँ रुपैञाको सामान कति त बिग्रेर जान्छन् , कति त समय गुज्रेर फाल्नुपर्छ र कति त चोरिन्छन् र बाहिर बेचिन्छन् । उनी कडा थिइन् र स्टोरमा गएर बिरामीका लागि आवश्यक सामग्री छ भने किन्न लगाउँदिन थिइन् ।

मैले एकदिन सोधेँ—भन्न मिल्छ भने भन्नुस् न, तपाईँको घर कहाँ हो ? कति वर्षकी हुनुभयो ? कति पढ्नु भएको छ ? यसप्रकारको सेवा भाव कसरी तपाईँमा आयो ? अरु त सिस्टरहरु तपाईँजस्तै सेवाभाव राख्दैनन् ।

मलाई उनले सोझै तरिकाले जबाफ दिइन् —मेरो घर चितवन हो । पहिले हाम्रो घर लमजुङमा रहेछ तर म चितवनमा नै जन्मेकी हुँ । अहिले म २३ वर्षकी भएँ र अविवाहित नै छु । अनि यो पेसामा आउने विचारले मैले भरतपुरमा स्टाफ नर्सको कोर्स सिध्याएँ र यो अस्पतालमा काम पाएँ । नर्सिङ पेसामा लाग्ने हो भने सेवा भाव जरुरी छ, मानवीय संवेदनालाई आमाजस्तै भएर बुझ्नु जरुरी छ । अरु साथीहरुका वारेमा उहाँहरुलाई नै सोध्नुस् । हाँसेर दिएको जबाफ भए पनि कति मार्मिक थियो र कति स्पष्ट थियो । कतिसम्म भने अपरेसन कक्षमा हुँदा समेत उनले बिरामीका परिवारलाई ढाढस दिएर जान्थिन् र भन्थिन् —धेरै चिन्ता नगर्नुस् , तपाईँका भन्दा बढी चिन्ता हामीलाई हुन्छ बिरामीको किनभने तपाईँहरुले सम्पूर्ण विश्वास हामीमाथि राख्नुहुन्छ अनि हामी त्यो विश्वासको जगमा भगवानसँग प्रार्थना गछौँ , हामी त निमित्त मात्रै हौँ ।

म त छक्क परेको थिएँ उनको जबाफबाट र दैनिक सेवा व्यवहारबाट । उनी अस्पतालको निवासमा नै बस्ने हुनाले कतिपय सिस्टरहरुको अप्ठेरो पर्दा उनी ओभर टाइमको कुनै वास्ता नगरी सेवामा हाजिर हुन्थिन् । डाक्टरहरु पनि उनको खोजी गर्थे किनभने वार्डका सबै विरामीको उनले रेकर्ड यसरी राखेकी हुन्थिन् कि बिरामीको फाइल नै हेर्नु पर्दैनथ्यो ।
राम्री पनि बिछट्टैकी थिइन् , लुगा पनि कति सुहाएको हुन्थ्यो तर उनमा अरुजस्तो राम्री भएकीमा घमण्ड देखिँदैनथ्यो र सबैसँगको उनको व्यवहार लाग्थ्यो सबैसँग उनको परिचय पहिलेदेखिकै हो ।

मलाई दिउँसो काममा जानु पथ्र्यो । उनको ड्युटीमा म निस्फिक्रीका साथ जान सक्थेँ । करिब १ महिनाजत्ति म अस्पतालमा बिरामीलाई लिएर बसेँ । अरु सिस्टरको समय तालिका भने कसैलाई वास्ता थिएन तर लता सिस्टरको कुन वार कति बजे आउने , कुन बार नाइट ड्युटी पर्छ , सामान्यतः बिरामी र कुरुवाहरुलाई थाहा थियो । हप्तामा शनिवार नाइट ड्युटी हुन्थ्यो अनि एकैचोटि सोमबारमात्र उनी आउँथिन् किनभने त्यो समय तालिका अहिले पनि मलाई सम्झेकै छु ।

अहिले कहाँ होलिन् लता सिस्टर, बिहे गरिन् कि गरिनन् ? बिहे गरेको भए उनका श्रीमान के गर्दै होलान् किनभने त्यो बेलाको उनको उमेरसँग अहिले गणना गर्दा उनी ६३ वर्षकी भइन् र उनको श्रीमान पनि त्यही उमेरको हाराहारी या बढी नै भएका होलान् । कुनै डाक्टरसँग बिहे गरिन् कि बाबुआमाले खोजेको केटासँग बिहे गरिन् कि ? मागी बिहे गरिन् कि प्रेम बिबाह गरिन् कि ? छोरा छोरी नाति नातिनी भए होलान् र उनका पनि जन्जालले देशबाट बाहिरिए या देशमै छन् कि ?

यसपटकको कोरोना कहरमा नर्स , डाक्टर, प्रहरी, सेनाहरुले गरेको सेवा भावले मलाई उनलाई सम्झिन बाध्य पारेको हो कि जस्तो लाग्छ । मेरी श्रीमतीलाई त्यहाँबाट डिस्चार्ज गरेपछि फेरि म त्यो अस्पतालको सर्जिकल फिमेल वार्डमा गइँन । मलाई अहिले पनि ती लता सिस्टर त्यहीँ सफा सेतो इन्द्रकमल जस्तो ड्रेसमा निलो बेल्ट लगाएर , कपालमा कलम घुसारेर, आवश्यक पर्ने सामग्रीहरुको जोहो गर्ने जाँगर भएकी ती साक्षात् देवीको कल्पना आउँछ । मैले के पनि देखिन भने त्यो उमेर उनमा कुनै उत्ताउलोपन पनि थिएन र कुनै घमण्ड पनि थिएन । सायद समय मिलाएर पद्मकन्या क्याम्पसमा पढ्दै पनि थिइन् कि ? उनका हातमा कुनै न कुनै किताब हुन्थ्यो साहित्यको तर पढ्न फुर्सद त तिनलाई कहाँ हुन्थ्यो र ?

म अहिलेको उनको अनुहार कस्तो भयो होला भनेर कल्पना गर्छु । कपाल सेतै फुल्यो होला, गालामा चाउरी परेको होला, तर उनको अनुहारमा त्यो चमक पक्कै होला स्वाभिमानको र सेवाको सन्तुष्टभावको । तर म उस्तै लता सिस्टरमात्र सम्झन्छु जसलाई ४० वर्ष अघि अस्पतालको फिमेल सर्जिकल वार्डमा देखेको थिएँ । अनि उनलाई हजारौँ बिरामी र हजाराँै कुरुवाले दिएको आशीर्वादले पक्कै पनि जीवन सहजताका साथ चलेको होला । सन्तानको राम्रै अवस्था होला या के भएको होला ? यदि तपाईँले चिन्नु भएको छ भने मलाई एकपटक ती सेवामुर्तिको दर्शन गर्नु छ जसले मलाई अहिलेसम्म एउटा सकारात्मक प्रभाव छोडेको छ परिचारिकाहरुको सेवाको । पक्कै पनि यो कोरोना कहरमा उनले निःशर्त सेवा गरिहोलिन् संक्रमितहरुको र उनलाई पक्कै पनि कोरोनाले छोएको छैन होला भन्ने अपेक्षा गरेको छु ।